काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल फिजी र टुभालुमा आयोजित जलवायु परिवर्तनसम्बन्धी उच्चस्तरीय ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी हुनुका साथै अस्ट्रेलियाको औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा अस्ट्रेलियाले बाढीपछिको पुनर्निर्माणका लागि थप १ करोड ५० लाख अस्ट्रेलियन डलर अनुदान दिने घोषणा गरेको उनले बताएका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री खनालले बाढी विपद् प्रतिकार्यका लागि अस्ट्रेलियाले घोषणा गरेको कुल सहायता २ करोड ६० लाख अस्ट्रेलियन डलर पुगेको जानकारी दिए ।
जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स प्लेनरी’ मा नेपालको धारणा राख्दै मन्त्री खनालले हिमनदी पग्लिने र समुद्री सतह बढ्ने समस्या जलवायु संकटका परस्पर जोडिएका पक्ष भएको उल्लेख गरे । उनले हिमालदेखि समुद्रसम्मका राष्ट्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए ।
कोप–३१ का लागि नेपालको प्राथमिकता प्रस्तुत गर्दै उनले विश्वव्यापी तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्यप्रतिको प्रतिबद्धता दोहोर्याएका थिए । साथै, ऋणको भार नथपिने गरी अनुदानमा आधारित जलवायु अनुकूलन वित्त उपलब्ध गराउन, हानि तथा नोक्सानी कोष प्रभावकारी रूपमा परिचालन गर्न र ‘सगरमाथादेखि समुद्रसम्म’ साझेदारी विस्तार गर्नुपर्ने नेपालको धारणा राखेका थिए ।
आगामी नोभेम्बरमा टर्कीको अन्टाल्यामा कोप–३१ आयोजना हुँदै छ ।
अस्ट्रेलियाका विदेशमन्त्री पेन्नी वोङसँगको द्विपक्षीय वार्तामा जलवायु सहकार्य, पूर्वसूचना प्रणालीको आधुनिकीकरण, जलवायु अनुकूलित पूर्वाधार निर्माण तथा प्राविधिक साझेदारी विस्तारबारे छलफल भएको मन्त्री खनालले जानकारी दिए ।
त्यस्तै, न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्ससँगको भेटमा बाढी तथा डढेलो व्यवस्थापन र विपद्पछिको पुनर्निर्माणमा अनुभव आदानप्रदान गर्ने विषयमा छलफल भएको थियो ।