काठमाडौं – कप्तान दिपेन्द्रसिंह ऐरी र इसान पाण्डेको उत्कृष्ट साझेदारीमा सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्समाथि सहज जित हात पारेको छ ।
सुरुवाती विकेट गुमाएर दबाबमा परेको सुदूरपश्चिमलाई कप्तान ऐरी र इसानले चौथो विकेटका लागि ७४ रनको महत्वपूर्ण साझेदारी गर्दै खेलमा फर्काएका हुन् ।
उनीहरूको साझेदारी जारी एनपीएलमा अहिलेसम्मकै सर्वाधिक रनको साझेदारी बनेको छ। इसानले ३१ बलमा ३७ रन बनाए ।
उनले २ चौका र २ छक्का प्रहार गरे। बंगलादेशी अलराउन्डर मेहदी हसनको बलमा एलबीडब्ल्यु आउट हुनुअघि उनले कप्तान ऐरीसँग मिलेर टोलीको इनिङ्स सम्हालेका थिए।