काठमाडौं – बंगालको खाडीमा विकसित अति शक्तिशाली चक्रवात अर्नबको प्रभाव नेपालमा आज (बिहीबार) देखि सुरु हुने भएकाे छ ।
मौसमविद् विनोद पोखरेलका अनुसार चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भइसकेको छ। तर, यस प्रणालीका कारण आज दिउँसोदेखि वर्षा सुरु भई भोलि (शुक्रबार) देशका धेरैजसो स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
मौसमविद् पोखरेलले सामाजिक सञ्जालमार्फत ‘अहिले चक्रवात अर्नब कमजोर भई न्यूनचापीय प्रणालीमा परिणत भएको छ। नेपालमा बादल आइपुगे पनि वर्षा सुरु भइसकेको छैन। आज दिउँसोदेखि वर्षा सुरु हुने र भोलि भारी वर्षाको सम्भावना बढी रहने देखिन्छ। विशेष गरी आज रातिदेखि शनिबार बिहानसम्मको अवधिमा उच्च सतर्कता अपनाउनुपर्ने देखिन्छ।’ उनले भनेका छन् ।
आजको पूर्वानुमान अनुसार हिजोको तुलनामा कम जिल्लाहरू मात्रै जोखिमको सूचीमा देखिए तापनि यो प्रणालीले ठूलो क्षेत्र ओगटेको उनकाे भनाइ छ। माथिल्लो वायुमण्डलको न्यूनचापीय रेखा सँग यस प्रणालीको अन्तरक्रिया भइरहेकाले अझै धेरै ठाउँमा भारी वर्षा गराउन सक्ने सम्भावना रहेको छ।
वर्षा हुने स्थान, समय र परिमाणमा फेरबदल हुन सक्ने भएकाले सर्वसाधारणलाई नियमित रूपमा मौसमसम्बन्धी अपडेट र आधिकारिक सूचनाहरू मात्र हेर्न तथा आवश्यक सतर्कता अपनाउन पनि उनले अनुरोध गरेका छन् ।