बाँके – बाँकेको जानकी गाउँपालिका–५, बकसपुरस्थित अम्बे स्टिल सरिया कम्पनीमा आगलागी हुँदा आठ जना घाइते भएका छन् ।
घाइतेमध्ये दुई जनाको अवस्था मध्यम रहेको छ भने थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको छ ।
प्रहरीका अनुसार आज बिहान करिब ५ः४० बजे कम्पनीभित्र फलाम पगाल्ने तीनवटा भट्टीमा विद्युत् सर्ट सर्किट हुँदा अचानक आगलागी भएको हो । प्रत्येक भट्टीको क्षमता २५ टन रहेको बताइएको छ ।
आगलागीमा परी बाँकेका पाँच जना र भारतको बहराइच जिल्लाका तीन जना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि नेपालगञ्जस्थित भेरी अस्पताल पुर्याइएको थियो ।
घाइते हुनेमा बाँकेको जानकी गाउँपालिका–५ का २८ वर्षीय शिवप्रसाद चमार, २२ वर्षीय रामदिन हरिजन, २४ वर्षीय प्रेम धोबी, २९ वर्षीय दिलीपकुमार यादव र ३५ वर्षीय लक्ष्मीराम यादव रहेका छन् ।
त्यस्तै, भारतको बहराइच जिल्ला कठौतियाका २९ वर्षीय राजकुमार निषाद, २४ वर्षीय नशिव कुमार निषाद र २५ वर्षीय विनोद कुमार निषाद घाइते भएका छन् ।
प्रहरीका अनुसार शिवप्रसाद चमार र रामदिन हरिजनको अवस्था मध्यम छ भने अन्य छ जनाको अवस्था सामान्य रहेको छ । बिहान ८ः४५ बजे चमार र हरिजनलाई थप उपचारका लागि भारतको लखनउ रिफर गरिएको हो ।
आगलागीको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय खजुरा खुर्दबाट प्रहरी वरिष्ठ नायब निरीक्षक लुद्रबहादुर केसीको कमान्डमा पाँच सदस्यीय प्रहरी टोली घटनास्थल पुगेको थियो ।
नेपालगञ्ज उपमहानगरपालिकाका दुई र कोहलपुर नगरपालिकाको एक दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहयोगमा बिहान ८ः१५ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विवरण भने खुल्न बाँकी रहेको छ ।