काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज सोमबार दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो खेलमा काठमाडौं गोर्खाज र कर्णाली याक्स आमनेसामने हुँदैछन्।
दिउँसो १२ः३० बजे सुरु हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछन्। काठमाडौंको कप्तानी करण केसीले गर्नेछन् भने कर्णालीको नेतृत्व सोमपाल कामीले सम्हाल्नेछन् ।
काठमाडौंको टोलीमा अस्ट्रेलियाका पूर्वकप्तान तथा विस्फोटक ब्याटर डेभिड वार्नर र भारतीय विकेटकिपर ब्याटर केएस भरत मुख्य आकर्षणका रूपमा छन्। बलियो ब्याटिङ लाइनअप रहेको काठमाडौं वार्नर र भरतको प्रदर्शनबाट ठूलो अपेक्षामा हुनेछ।
यता, कर्णालीमा कप्तान सोमपाल कामीसँगै मार्क वाट, अकबर अली र गुलशन झा महत्त्वपूर्ण खेलाडीका रूपमा रहेका छन्। सन्तुलित प्रदर्शन गर्दै काठमाडौंलाई चुनौती दिने कर्णालीको लक्ष्य हुनेछ।
आजै हुने दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुनेछ। साँझ ५ बजे सुरु हुने उक्त खेल पनि त्रिवि क्रिकेट मैदानमै हुनेछ।