काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज कर्णाली याक्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । प्लेअफको सम्भावना बलियो बनाउने लक्ष्यसहित दुवै टोली मैदान उत्रिँदै छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने खेल दिउँसो १२ः३० बजे सुरु हुनेछ । दुवै टोलीले समान चार अंक जोडेका छन् । तर, रनरेटका आधारमा कर्णाली अगाडि छ ।
तीन खेलबाट दुई जित र एक हार बेहोरेको कर्णाली चार अंकसहित तालिकाको तेस्रो स्थानमा छ । चार खेल खेलेको सुदूरपश्चिमले पनि दुई जित र दुई हारसहित चार अंक जोडेको छ ।
रनरेटमा पछाडि पर्दा सुदूरपश्चिम तालिकाको छैटौँ स्थानमा छ । आजको खेल जित्ने टोलीले प्लेअफ यात्रालाई थप सहज बनाउनेछ भने हार्ने टोलीमाथि आगामी खेलमा दबाब बढ्नेछ ।
यसैबीच आजै हुने दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्स आमनेसामने हुँदैछन् । साँझ ५ बजे सुरु हुने खेलमा पोखरा पहिलो जितको खोजीमा हुनेछ ।
तीन खेल खेलिसकेको पोखराले अहिलेसम्म जितको खाता खोल्न सकेको छैन । अंकविहीन पोखरा तालिकाको अन्तिम स्थानमा छ ।
यता, चितवन भने दोस्रो जित निकाल्ने लक्ष्यमा हुनेछ । तीन अंकसहित तालिकाको सातौँ स्थानमा रहेको चितवनले एक जित र एक हार बेहोरेको छ ।
वर्षाका कारण टोलीको एक खेल भने रद्द भएको थियो । आजका दुवै खेलले अंकतालिकाको समीकरण र प्लेअफ दौडलाई थप रोचक बनाउने अपेक्षा गरिएको छ ।