काठमाडौं – सूर्यदेव र षष्ठीदेवीको आराधना गरी मनाइने चारदिने छठ पर्व आजदेखि विधिवत् सुरु भएको छ। पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधि गर्दै छठको अनुष्ठान प्रारम्भ गरेका छन्।
छठ पर्वलाई लक्षित गर्दै नदीकिनार, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ गरिएको छ। गाउँघरदेखि सहरसम्म छठको रौनक बढेको छ। घरका भित्तामा लिपपोत तथा रङरोगन गर्नुका साथै सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएको छ।
मिथिलासहित तराईका विभिन्न जिल्लामा विशेष उत्साहका साथ मनाइने छठ पर्वमा धनी, गरिब सबैले आफ्नो क्षमता र परम्पराअनुसार श्रद्धा तथा निष्ठाका साथ सहभागिता जनाउने तयारी गरेका छन्।
मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म मनाइने यस पर्वको पहिलो दिन ‘नहाय–खाय’ गरिन्छ। दोस्रो दिन व्रतालुले ‘खरना’ विधि सम्पन्न गर्छन्।
तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरिन्छ भने चौथो तथा अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुन्छ।
छठ पर्वमा सूर्यदेव र षष्ठीदेवीको पूजा आराधना गर्दै परिवारको सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना गर्ने धार्मिक परम्परा छ।
धार्मिक आस्थासँगै सामाजिक सद्भाव र समानताको सन्देश बोकेको छठ पर्वमा जातीय तथा सामुदायिक विभेदलाई स्थान दिइँदैन। छठघाटमा सबै समुदायका मानिस एकै ठाउँमा भेला भएर एउटै लहरमा सूर्यदेवको आराधना गर्ने परम्परा छ।
यस पर्वले पुराना मनमुटाव बिर्सेर आपसी सद्भाव, एकता र भाइचाराको सम्बन्ध बलियो बनाउने विश्वास गरिन्छ। त्यसैले छठलाई धार्मिक आस्था र सामाजिक एकताको अनुपम पर्वका रूपमा समेत लिने गरिन्छ।