AarthikBikash
आइतवार, मंसिर ७, २०८३
  • होमपेज
  • राजनीति
  • प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भ्रमणका लागि भारत प्रस्थान

प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भ्रमणका लागि भारत प्रस्थान

  • आइतवार, मंसिर ७, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौं –  प्रधानमन्त्री बालेन्द्र शाह दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत प्रस्थान गरेका हुन्।

प्रधानमन्त्री शाहले नेतृत्व गर्ने भ्रमण दलमा ३४ सदस्यीय सरकारी टोली हुनेछ, जसमा अर्थमन्त्री स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्री शाहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेञ्जनकार, राजनीतिक सल्लाहकार असिम शाहलगायत हुनेछन्।

निजी क्षेत्रबाट ५२ जनाको टोली आफ्नै खर्चमा भ्रमण दलमा मिसिँदैछ भने विभिन्न सञ्चारमाध्यमबाट पत्रकारसमेत सहभागी हुनेछन्।

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन्।  भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार, ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्धाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा पारवहन, सम्पर्क सञ्जाल, लगानी, ऊर्जा, पूर्वाधार लगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धिबारे छलफल र समझदारी हुनेछ। यसैगरी सहकार्यका विविध क्षेत्र शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, मानव संशाधन लगायतका विषयहरू समेटिएका समझदारीपत्र आदानप्रदान हुने कार्यक्रम पनि तय गरिएको छ।

यी कार्यक्रमपश्चात् प्रधानमन्त्री शाह र समकक्षी मोदीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। यसपछि नेपाली प्रतिनिधिमण्डल प्रधानमन्त्री शाहको सम्मानमा समकक्षी मोदीले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन्।  भ्रमणका अवसरमा प्रधानमन्त्री शाहले भारतीय राष्ट्रपति द्रौपति मुर्मू र विदेशमन्त्री एस जयशंकरसँग शिष्टाचार भेट गर्ने कार्यक्रमसमेत तय गरिएको छ।

सम्बन्धित समाचार