काठमाडौं – बलिङमा उत्कृष्ट प्रदर्शन गर्दै पाकिस्तान ‘ए’लाई १६८ रनमा रोकेको नेपाल ब्याटिङमा नराम्ररी चुक्दा एसिया कप राइजिङ स्टार्स क्रिकेटमा ९६ रनले पराजित भएको छ ।
दोहामा मंगलबार भएको समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले दिएको १६९ रनको लक्ष्य पछ्याएको नेपाल १७.३ ओभरमा ७२ रनमै अलआउट भयो । नेपालका ६ जना ब्याटरले खातासमेत खोल्न सकेनन् भने दुई जनाले मात्रै दोहोरो अंकमा रन बनाउन सके ।
नेपालका लागि ओपनर मायन यादवले सर्वाधिक ४१ रन बनाए । उनले ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनी अन्तिम विकेटका रूपमा आउट भएका थिए ।
यस्तै बशीर अहमदले १९ बलमा २ चौकासहित ११ रन बनाए । देव खनालले ८ र कुशल भुर्तेलले १ रन जोडे । अभिषेक गौतम १ रनमा अविजित रहे ।
इशान पाण्डे, लोकेश बम, पवन सर्राफ, राशिद खान, नन्दन यादव र कप्तान सन्दीप लामिछाने शून्य रनमै आउट भए । नेपालले अतिरिक्तबाट १० रन पाएको थियो ।
नेपालको ब्याटिङ ध्वस्त पार्ने क्रममा पाकिस्तान ‘ए’का मोहम्मद हसनैन र सुफियान मुकिमले समान ३ विकेट लिए । मोहम्मद इमरानले २ तथा माज सदाकतले १ विकेट हात पारे ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तान ‘ए’ नेपाली बलरको कसिलो आक्रमणसामु ४२ ओभरमा १६८ रनमा समेटिएको थियो ।
एक समय ८८ रन जोड्दा ७ विकेट गुमाएर दबाबमा परेको पाकिस्तानलाई विकेटकिपर रोहेल नजीरले सम्हालेका थिए । उनले ८३ बलमा ४ चौका र ३ छक्कासहित अविजित ६४ रन बनाए ।
नजीरले आठौँ विकेटका लागि अहमद दानियलसँग ७० रनको महत्त्वपूर्ण साझेदारी गरेका थिए । दानियलले ३५ बलमा १६ रन बनाए ।
पाकिस्तानका लागि हसन नवाजले २८, हैदर अलीले १५ तथा माज सदाकत र कप्तान अब्दुल समदले समान १३ रन जोडे ।
नेपालका लागि राशिद खानले घातक बलिङ गर्दै ५ विकेट लिए । उनले ८ ओभरमा ३९ रन खर्चिए । यस्तै अभिषेक गौतमले २ तथा कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले समान १ विकेट लिए ।
बलिङमा पाकिस्तानलाई सस्तैमा रोके पनि ब्याटिङमा सम्हालिन नसक्दा नेपालले खेल ९६ रनले गुमाएको हो ।