AarthikBikash
बुधबार, मंसिर १०, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशतभन्दा बढी

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशतभन्दा बढी

  • बुधबार, मंसिर १०, २०८३
नेपालको सार्वजनिक ऋण २९ खर्ब ७५ अर्ब पुग्यो, जीडीपीको ४५ प्रतिशतभन्दा बढी

काठमाडौं – नेपालको कुल सार्वजनिक ऋण दायित्व २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ पुगेको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनासम्मको तथ्यांकअनुसार सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ४५.०८ प्रतिशत पुगेको हो।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको २०८३ कात्तिक मसान्तसम्मको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको सुरुआतमा कुल सार्वजनिक ऋण २९ खर्ब ८१ अर्ब ७० करोड २८ लाख रुपैयाँ थियो। कात्तिक मसान्तसम्म विनिमय दरमा भएको नाफासमेतका कारण ऋण दायित्व घटेर २९ खर्ब ७५ अर्ब ११ करोड ८० लाख रुपैयाँ कायम भएको हो।

कुल सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५२।९३ प्रतिशत र आन्तरिक ऋणको हिस्सा ४७।०७ प्रतिशत रहेको छ। यसअनुसार सरकारको वैदेशिक ऋण दायित्व १५ खर्ब ७४ अर्ब ६४ करोड २१ लाख रुपैयाँ पुगेको छ भने आन्तरिक ऋण दायित्व १४ खर्ब ४७ करोड ५९ लाख रुपैयाँ रहेको छ।

सरकारले चालु आर्थिक वर्षमा कुल ६ खर्ब ५८ अर्ब २८ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको छ। तर, कात्तिक मसान्तसम्ममा १ खर्ब ५३ अर्ब ८४ करोड ७२ लाख रुपैयाँ मात्रै ऋण प्राप्त भएको छ। यो वार्षिक लक्ष्यको २३।३७ प्रतिशत हो।

सरकारले आन्तरिक ऋणतर्फ ४ खर्ब १० अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब ४८ अर्ब २८ करोड ७ लाख रुपैयाँ परिचालन गर्ने लक्ष्य राखेको छ। कात्तिक मसान्तसम्म आन्तरिक ऋणतर्फ १ खर्ब २५ अर्ब र वैदेशिक ऋणतर्फ २८ अर्ब ८४ करोड रुपैयाँ प्राप्त भएको छ। वार्षिक लक्ष्यका आधारमा आन्तरिक ऋण परिचालनको प्रगति ३०।४९ प्रतिशत र वैदेशिक ऋण परिचालनको प्रगति ११।६२ प्रतिशत रहेको छ।

प्राप्त कुल सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको हिस्सा ८१.२५ प्रतिशत र वैदेशिक ऋणको हिस्सा १८.७५ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ।

सरकारले चालु आर्थिक वर्षमा परिचालन गर्ने लक्ष्य राखेको सार्वजनिक ऋणमध्ये अझै ५ खर्ब ४ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ प्राप्त गर्न बाँकी छ। यसमध्ये आन्तरिक ऋणतर्फ २ खर्ब ८५ अर्ब र वैदेशिक ऋणतर्फ २ खर्ब १९ अर्ब ४३ करोड ३५ लाख रुपैयाँ परिचालन गर्न बाँकी रहेको छ।

यसैगरी, सरकारले चालु आर्थिक वर्षमा सार्वजनिक ऋणको साँवा तथा ब्याज भुक्तानीका लागि ४ खर्ब १७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। जसमध्ये कात्तिक मसान्तसम्म १ खर्ब ४० अर्ब ९३ करोड ६१ लाख रुपैयाँ भुक्तानी भइसकेको छ। यो वार्षिक विनियोजनको ३३.७३ प्रतिशत हो।

जीडीपीको आधारमा चार महिनामा भएको ऋण सेवा खर्च २.१४ प्रतिशत रहेको छ। ऋण सेवा खर्चअन्तर्गत आन्तरिक ऋण भुक्तानीमा १ खर्ब १९ अर्ब १८ करोड ८२ लाख रुपैयाँ र वैदेशिक ऋण भुक्तानीमा २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ।

आन्तरिक ऋण भुक्तानीका लागि वार्षिक ३ खर्ब २८ अर्ब १४ करोड रुपैयाँ बजेट विनियोजन भएकामा कात्तिक मसान्तसम्म ३६.३२ प्रतिशत खर्च भएको छ। यसअन्तर्गत आन्तरिक ऋणको साँवा भुक्तानीमा ९९ अर्ब ९४ करोड रुपैयाँ र ब्याज भुक्तानीमा १९ अर्ब २४ करोड ८२ लाख रुपैयाँ खर्च भएको छ।

आन्तरिक ऋणको साँवा भुक्तानीमा वार्षिक विनियोजनको ४०.६४ प्रतिशत र ब्याज भुक्तानीमा २३.४० प्रतिशत खर्च भएको प्रतिवेदनमा उल्लेख छ।

त्यस्तै, वैदेशिक ऋण भुक्तानीका लागि विनियोजित ८९ अर्ब ७४ करोड ७० लाख रुपैयाँमध्ये कात्तिक मसान्तसम्म २१ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक विनियोजनको २४.२३ प्रतिशत हो।

वैदेशिक ऋणको साँवा भुक्तानीमा १७ अर्ब ३८ करोड रुपैयाँ र ब्याज भुक्तानीमा ४ अर्ब ३६ करोड ७९ लाख रुपैयाँ खर्च भएको छ। यसअनुसार वैदेशिक ऋणको साँवा भुक्तानीमा वार्षिक बजेटको २४.०७ प्रतिशत र ब्याज भुक्तानीमा २४.९० प्रतिशत खर्च भएको छ।

सम्बन्धित समाचार