काठमाडौं – काठमाडौंको ठमेललाई ट्रान्जिट बनाएर अन्तरदेशीय कोकिन तस्करी गर्ने प्रयासमा संलग्न रहेको आरोपमा प्रहरीले ८७ वर्षीय दक्षिण कोरियाली र २८ वर्षीय भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार ठमेलस्थित जीपी रोडको एक होटलबाट उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा दक्षिण कोरियाली नागरिक ८७ वर्षीय सुक चोन ली र भारतीय नागरिक २८ वर्षीय दीपक उत्तम वाघमारे रहेका छन् ।
प्रहरीका अनुसार दक्षिण कोरियाली नागरिकले आफ्नो ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाएर तीन किलो कोकिन लुकाई ल्याएका थिए । उक्त कोकिन लिन आएका भारतीय नागरिकलाई पनि प्रहरीले सोही क्रममा पक्राउ गरेको हो ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा दक्षिण कोरियाली नागरिकले पेरुबाट काठमाडौंसम्म कोकिन ल्याउने र भारतीय नागरिकले काठमाडौं हुँदै भारतको मुम्बई पुर्याउने जिम्मेवारी पाएको खुलेको छ ।
दक्षिण कोरियाली नागरिक पेरुबाट स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै सन् २०२६ नोभेम्बर २६ मा नेपाल आएको प्रहरीले जनाएको छ । उनी यसअघि पनि सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलको होटलमा तीन दिन बसेपछि कोरिया फर्किएको अभिलेखबाट खुलेको छ ।
पक्राउ परेका भारतीय नागरिकको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको छ ।
प्रहरीका अनुसार उनीहरूबीच कोकिन लुकाइएको सुटकेस हस्तान्तरण गर्दा पासवर्ड प्रयोग भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
बरामद कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको छ । प्रहरीले उनीहरूको साथबाट कोकिनबाहेक एक थान पासपोर्ट, एक थान आधार कार्ड र दुई थान मोबाइलसमेत बरामद गरेको छ ।
पक्राउ परेका दुवै विदेशी नागरिकमाथि लागूऔषध नियन्त्रण ब्युरोले थप अनुसन्धान गरिरहेको जनाएको छ ।