काठमाडौं – नेपाली कांग्रेसले हिमाली जिल्लाबाट जिल्ला अधिवेशन सुरु गरी आगामी पुस १८ गतेभित्र सातवटै प्रदेशको अधिवेशन सम्पन्न गर्ने तयारी गरेको छ ।
पार्टी सभापति गगनकुमार थापाले जिल्ला र प्रदेश अधिवेशनको कार्यतालिका अघि बढाएका हुन् ।
केन्द्रीय निर्वाचन समितिसँगको परामर्शपछि सभापति थापाले हिमाली जिल्लामा मंसिर २४ र २५ गते तथा अन्य जिल्लामा पुस ४ र ५ गते अधिवेशन गर्ने गरी कार्यतालिका तय गरिएको जानकारी दिएका छन् ।
त्यस्तै, प्रदेश अधिवेशन पुस १२ देखि १८ गतेसम्म सञ्चालन गर्ने तयारी छ । सातवटै प्रदेशको अधिवेशनमा पार्टीका केन्द्रीय प्रमुख पदाधिकारीहरू उपस्थित भई सम्बोधन तथा समन्वय गर्ने कार्यक्रम रहेकाले प्रदेशअनुसार एक–दुई दिनको अन्तरमा अधिवेशन आयोजना गरिने थापाले बताएका छन् ।
हिमाली जिल्लामा हिमपात र प्रतिकूल मौसमको सम्भावना रहेकाले अन्य जिल्लाभन्दा अगावै अधिवेशन गर्न लागिएको हो । बाँकी जिल्लामा भने निर्धारित मितिमै अधिवेशन सञ्चालन गर्ने तयारी छ ।
विशेष परिस्थिति वा बाध्यता उत्पन्न भए सम्बन्धित जिल्ला कार्यसमितिसँग परामर्श गरी निर्वाचन समितिले अधिवेशनको मितिमा सामान्य हेरफेर गर्न सक्नेछ ।
जिल्ला तथा प्रदेश अधिवेशनको विस्तृत कार्यतालिका केन्द्रीय निर्वाचन समितिले सोमबार सार्वजनिक गर्नेछ ।
यसअघि कांग्रेसले गत असोज १६ देखि २३ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न गरेको थियो । महाधिवेशनबाट गगन थापाको नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भए पनि जिल्ला र प्रदेश अधिवेशन हुन बाँकी छन् ।
तल्लो तहमा वडा, पालिका, प्रदेश र प्रतिनिधिसभा निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भइसकेको छ । अब जिल्ला र प्रदेशको नेतृत्व चयनसँगै कांग्रेसको सांगठनिक अधिवेशन प्रक्रिया अघि बढ्नेछ ।