काठमाडौं – रास्वपाका सभापति रवि लामिछानेले कर्णालीमा रास्वपाको उपस्थिति कमजोर भएको बताएका छन्। कर्णाली प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले कर्णालीबाट पार्टीले कम सिट जितेपनि विकासमा रास्वपाले प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन्।
‘कर्णालीमा हाम्रो उपस्थिति अन्य ठाउँमा जस्तो हुन सकेन। कर्णालीमा हाम्रो आवाज, दूरदराजमा पुग्न सकेन, पुर्याउन सकेनौं र कर्णालीबाट हाम्रो प्रतिनिधित्व अरू प्रदेशको तुलनामा कमजोर हुने भयो। तर म आज उभिएर सिङ्गो कर्णालीलाई बाचा गर्न चाहन्छु तपाईंले हाम्रा उम्मेदवारलाई विजयी गराउनु र नगराउनुसँग कर्णालीको विकासको साइनो छैन, कर्णालीले विकास मागेको छ। खोजेको छ।’ उनले भने,‘रास्वपा सरकारमा रहुन्जेलसम्म चाहे कर्णालीले एक जनापनि नपठाओस्, कर्णालीले एक भोट नदिएपनि रास्वपाको प्राथमिकतामा रहने छ।’
कर्णालीसँग सौदा गर्न नआएका बताउँदै सभापति लामिछानेले कर्णालीका मुद्दालाई केन्द्रमा लिएर जाने प्रतिबद्धताका साथ आएको धारणा राखे।सभापति
लामिछानेले स्थानीय तहको उम्मेदवारको विषयमा कुनै नेतासँग म नजिक छु भन्दै तस्बिर बेच्न नपाइने स्पष्ट पारे। ‘एयरपोर्टदेखि एयरपोर्टसम्म पुग्दा नेताहरू कार्यकर्ताहरूबाट घेरिन्छन्, तिनै साथीहरू वरपर फोटोमा देखिन्छन्, यीनै तस्बिर देखाएर उस्तै परे मै हुँ यसपटकको उम्मेदवार पनि भन्न भ्याउँछन् होला साथीभाइहरू, तर त्यो फोटो बेच्न त पाइँदैन।’
उनले राजनीतिक दलमा लागे पार्टीको झोले भनेर मानिसहरूले आलोचना गर्ने, विरोध गर्ने तथा अपमानित गर्ने चलन वर्षौँदेखि चल्दै आएको उल्लेख गरे।