AarthikBikash
शनिबार, मंसिर १३, २०८३
  • होमपेज
  • समाज
  • नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

  • शनिबार, मंसिर १३, २०८३
नारायणगढ–मुग्लिङ सडक दैनिक पाँच घण्टा बन्द

चितवन – नारायणगढ–मुग्लिङ सडकखण्डको तुइन खोला क्षेत्रमा पहिरो रोकथामको काम अघि बढाइने भएपछि दैनिक पाँच घण्टा सवारी आवागमन बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनले यही मंसिर १३ गतेदेखि अर्को सूचना प्रकाशित नभएसम्म प्रत्येक दिन बिहान ११ देखि अपराह्न ४ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

पहिरो रोकथामको कामका क्रममा हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै उक्त समयमा नारायणगढ–मुग्लिङ सडकखण्डमा सबै प्रकारका सवारीसाधनको आवागमन रोक्ने निर्णय गरिएको सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद शर्माले बताए ।

तुइन खोलामा पहिरो खस्ने क्रम नरोकिएपछि विशेष प्रविधि अपनाएर दीर्घकालीन समाधान खोज्न सडक डिभिजन कार्यालय भरतपुरले काम अघि बढाएको छ । गत वर्षदेखि वर्षायाममा मात्र नभई हिउँदमा पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या देखिएपछि रोकथामका निम्ति विभिन्न प्रविधि अपनाउन लागिएको हो ।

ठूला ढुंगा पन्छाएर भिरको स्लोप व्यवस्थापन गर्ने, किला रड ठोकेर पहिरो प्रभावित क्षेत्रलाई बलियो बनाउने ‘नेलिङ’ प्रविधि अपनाइनेछ । त्यससँगै भीरबाट रसाएर आउने पानी बाहिर निकाल्न होरिजोन्टल ड्रेन (तेर्सो निकास) र बायोइन्जिनियरिङ (जैविक प्रविधि) प्रयोग गरिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

स्लोपको प्रकृतिअनुसार द्विआयामिक तथा त्रिआयामिक ढाँचामा बायोइन्जिनियरिङका उपाय अवलम्बन र पहिरो रोकथामका निम्ति मुख्य रूपमा नेलिङ प्रविधि प्रयोग गरिने सडक डिभिजन भरतपुरका प्रमुख इन्जिनियर अमितकुमार शर्माले बताए ।

गएको असोजदेखि रोकिएको तुइन खोला पहिरो रोकथामको काम पुनः अघि बढाउन लागिएको हो । पृथ्वी राजमार्गको कृष्णभीरमा सडक अवरुद्ध हुँदा पनि तुइन खोलामा काम गरिएको उनले बताए । उनले कृष्णभीरमा सडक सञ्चालनमा आएपछि तुइन खोलामा पनि बाटो सहज बनाउन काम रोकिएको उल्लेख गरे ।

शर्माका अनुसार, सडकको अवस्था हेर्दा कम्तीमा १५ दिन बन्द गरेर काम गर्नुपर्ने अवस्था छ ।

उनले पृथ्वी राजमार्गको मुग्लिङनजिक घोप्टेभीरमा शनिबार (मंसिर १२) सम्म काम सकिने र आइतबार (मंसिर १३) देखि पृथ्वी राजमार्ग सञ्चालनमा आउने जानकारी दिए । घोप्टेभीरको काम सकिएपछि तुइन खोलामा पहिरो रोकथामको कार्य अघि बढाइने उनले बताए ।

काठमाडौंबाट मुग्लिङ–आँबुखैरेनी हुँदै पोखरा जाने पृथ्वी राजमार्ग भने सञ्चालनमा रहने प्रशासनले जनाएको छ ।

सम्बन्धित समाचार