रौतहट – रौतहटमा ट्र्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा प्रहरी जवान सुभाष चौधरीको मृत्यु भएको छ । दुर्घटनामा उनकी श्रीमती निशा खड्का गम्भीर घाइते भएकी छन् ।
बिहीबार साँझ करिब ६ः३० बजे फतुवा विजयपुर नगरपालिका–११ राङ्गी टोलस्थित दुधिअवा–बालचनपुर सडकखण्डमा दुर्घटना भएको हो ।
प्रहरीका अनुसार दुधिअवाबाट बालचनपुरतर्फ जाँदै गरेको ना.२ त ४७८६ नम्बरको ट्र्याक्टर र विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०२–०५३ प ८२०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका ३५ वर्षीय चौधरीलाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो । चिकित्सकले उनलाई बिहीबार राति मृत घोषणा गरेका थिए ।
बारा जिल्लाको इलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत चौधरी गुजरा नगरपालिका–४ पोखरभिण्डाका बासिन्दा थिए ।
मोटरसाइकलको पछाडि सवार उनकी ३० वर्षीया श्रीमती निशा खड्काको अवस्था पनि चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेकाले उनको खोजी भइरहेको छ ।