काठमाडौं – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत अनौपचारिक रूपमा सञ्चालन भइरहेका खेलहरूको पदक तालिकामा बागमती प्रदेशले अग्रता कायम गरेको छ। सहआयोजक कर्णाली प्रदेश भने प्रतियोगिता जारी रहँदा अहिलेसम्म पदकविहीन छ।
हालसम्म सम्पन्न खेलका आधारमा बागमतीले १९ स्वर्ण, १२ रजत र १४ कास्य गरी ४५ पदक जितेको छ। पदक तालिकामा गैरआवासीय नेपाली संघ (एनआरएन) १२ स्वर्ण, चार रजत र चार कास्यसहित २० पदक जितेर दोस्रो स्थानमा छ।
त्यस्तै, त्रिभुवन आर्मी क्लबले ११ स्वर्ण, २० रजत र १९ कास्य गरी सर्वाधिक ५० पदक जित्दा नेपाल पुलिस क्लबले आठ स्वर्ण, १५ रजत र १८ कास्यसहित ४१ पदक हात पारेको छ।
अन्य प्रदेश तथा टोलीमध्ये गण्डकीले चार स्वर्ण, एक रजत र चार कास्य गरी नौ, कोशीले चार स्वर्ण, एक रजत र एक कास्य गरी छ तथा सशस्त्र प्रहरी बल (एपीएफ) ले तीन स्वर्ण, एक रजत र एक कास्य गरी पाँच पदक जितेका छन्।
लुम्बिनीले दुई स्वर्ण, छ रजत र तीन कास्य गरी ११ तथा सुदूरपश्चिमले दुई स्वर्ण, पाँच रजत र दुई कास्य गरी नौ पदक प्राप्त गरेका छन्। मधेस प्रदेशले भने दुई कास्य पदक मात्रै जितेको छ।
प्रतियोगिताको सहआयोजक कर्णाली प्रदेश भने अहिलेसम्म पदकविहीन छ। कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले जनशक्ति अभाव, भौगोलिक विकटता र तयारीले पूर्णता पाउन नसक्दा अपेक्षित नतिजा हासिल गर्न नसकिएको बताए।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार मंसिर ८ गतेदेखि पौडी, शारीरिक सुगठन, फुटबल, क्रिकेट, बास्केटबल, टेनिस, फुलकन्ट्याक्ट कराते, बक्सिङ र जिम्न्यास्टिकलगायतका खेल अनौपचारिक रूपमा सञ्चालन भइरहेका छन्। तीमध्ये पौडी र शारीरिक सुगठन प्रतियोगिता सम्पन्न भइसकेका छन्।
दसौँ राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको छ।
सुर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा शनिबार भएको खेलमा पुलिसले गण्डकीलाई १–० गोलले हराएको हो।
नेपाल पुलिसका सुजन बलाम्पाकी मगरले पहिलो हाफको अतिरिक्त समय अर्थात् ४६औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो।
खेलमा पुलिसका शिशिर चौधरी, सञ्जीव लामा र अभिषेक लामा तथा गण्डकीका सन्दीप पौडेल र बिसन गुरुङले पहेँलो कार्ड पाएका थिए।
पुलिस सेमिफाइनलमा पुग्दा गण्डकी भने प्रतियोगिताबाट बाहिरिएको छ।
मंसिर १३ गते शनिबार दुई खेल हुँदैछन्। पहिलो खेलमा त्रिभुवन आर्मी क्लब र कोशी प्रदेश भिड्नेछन् भने दोस्रो खेलमा बागमती र लुम्बिनी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ।
दुवै खेलका विजेता टोली सेमिफाइनलमा प्रवेश गर्ने म्याच कमिसनर वीरेन्द्र पाण्डेले जानकारी दिए।