सुर्खेत – दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता कर्णालीमा आयोजना हुनु नै ठूलो उपलब्धि भएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् ।
शनिबार राष्ट्रिय खेलकुद परिषद्ले सुर्खेतमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले विगतमा राष्ट्रिय प्रतियोगिता काठमाडौंमै हुने गरेको भन्दै यसपटक कर्णालीमा आयोजना हुनु महत्वपूर्ण भएको बताएका हुन्।
‘पहिले राष्ट्रिय प्रतियोगिताहरू काठमाडौंमै हुन्थे, यसपालि कम्तीमा कर्णालीमा प्रतियोगिता भएको छ,’ उनले भने ।
फुटबलको सेमिफाइनल र फाइनल जुम्लामा खेलाउन लागिएको विषयमा पत्रकारले राखेको जिज्ञासामा उनले जुम्लाका नागरिकलाई पनि न्याय हुने गरी एउटा खेलको फाइनल त्यहाँ आयोजना गर्न लागिएको बताए ।
यस्तै, प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले गर्ने निश्चित भएको उनले जानकारी दिए । उद्घाटनको समय भने मंसिर १४ गतेपछि मात्रै टुंगो लाग्ने मन्त्री पोखरेलको भनाइ छ ।
यसअघि राष्ट्रिय प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट र समापन प्रधानमन्त्रीबाट गर्ने परम्परा थियो ।
मंसिर १६ गते औपचारिक उद्घाटन हुने दशौँ राष्ट्रिय खेलकुदका खेल भने मंसिर ८ गतेदेखि सुरु भइसकेका छन् । उद्घाटन समारोहको मुख्य स्थलमा प्राविधिक पक्षबाहेक अन्य तयारी पूरा भएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीका लागि आवासलगायत आवश्यक व्यवस्थामा कुनै कमी नरहेको आयोजकको दाबी छ ।