साउन १८, सप्तरी ।
सप्तकोसीले ३४ वर्षपछि पुरानै धार पक्डिएपछि सप्तरी र उदयपुरका दर्जनाै बस्ती डुबानमा परेका छन् । सप्तकोसीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका बस्ती डुबाएकाे हाे ।
अहिले जहाँ कोसीको बाढी पसेको छ २०४५ सालअघि यही ठाउँबाट कोसी बग्ने गरेको स्थानीयले बताए । ०४५ सालको भूकम्पपछि कोसीले बिस्तारै धार परिवर्तन गरेर पूर्वतर्फ लागेको थियोे ।
बेलका-३ मा मात्र नाै सय घर प्रभावित भएको स्थनीयले बताए । राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधे पनि बाढीले कटान गरेको छ ।
केहीबेरमा जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्न लागेको र त्यसपछि विद्यालय र सार्वजनिक भवनहरूमा पनि बाढी प्रभावितहरूलाई राख्ने विषयमा छलफल हुन सक्ने अध्यक्ष आचार्यले बताए ।
यता, बाढी विस्थापितहरू अहिले आफन्तकोमा शरण लिइरहेका छन् ।