काठमाडौं-इरानसँगको युद्धमा अमेरिकाले विजयको घोषणा गर्न सकेको छैन। युद्ध अन्त्यका शृङ्खलाबद्ध वार्ताले परिणाम दिन नसकेपछि इरानलाई गलाउने भन्दै अमेरिकाले नयाँ प्रतिबन्ध घोषणा गरेको छ। अमेरिकी अर्थ मन्त्रालयले सोमबार इरानमात्रै होइन ऊसँग व्यापार गर्ने राष्ट्रलाई समेत लक्षित गर्दै नयाँ प्रतिबन्ध घोषणा गरेको हो।
‘इरानको वर्तमान सत्तालाई साथ दिइरहेका जोकोहीलाई कमजोर बनाउनु नयाँ प्रतिबन्धको उद्देश्य हो,’ अमेरिकी अर्थमन्त्री स्कट बसेन्टले भनेका छन्। इरानसँग तेल खरिद गरेर होस् वा अन्य माध्यमबाट इरानी अर्थतन्त्रलाई सघाउने राष्ट्र अब अमेरिकी निसानामा पर्ने चेतावनी उसले दिएको छ। अमेरिकी प्रतिबन्ध इरानका लागि कुनै नयाँ होइन। इरानले सन् १९७९ देखि अमेरिकी प्रतिबन्ध बेहोर्दै आएको छ। अमेरिकी प्रतिबन्धका कारण इरानले विभिन्न मुलुकसँग बलियो आर्थिक सम्बन्ध बनाएको छ। अमेरिकी दबाबलाई बेवास्ता गर्नेदेखि इरानसँग व्यापार रोक्नै नसक्ने मुलुक यस सूचीमा छन्।
४७ वर्षदेखि विभिन्न स्वरूपमा अमेरिकी प्रतिबन्ध बेहोरिरहेको इरानले नयाँ प्रतिबन्धको सामनाका लागि आफू पूर्ण रूपमा तयार रहेको बताएको छ। यो प्रतिबन्ध अमेरिका स्वयंमा लागि प्रत्युत्पादक हुने इरानको भनाइ छ। अमेरिकी प्रतिबन्ध आउनसक्ने आकलन गरेरै दुईवर्षे कार्ययोजना इरानले पहिल्यै तयार पारिसकेको इरानी अर्थमन्त्री अलि मदानिजेहको प्रतिक्रिया छ। ‘इरानमाथिको यो प्रतिबन्ध अमेरिकाका लागि अर्को हार हुनेछ। यसको सामना गर्न हामी सक्षम छौँ। अन्य राष्ट्रलाई समेत निसाना बनाएको अमेरिकी प्रतिबन्धले इरानलाई दुई वर्षसम्म कुनै असर पार्ने छैन,’ उनले भनेका छन्।
इरानको आम्दानीमा सहयोग गर्ने राष्ट्रलाई इरान र अमेरिका मध्ये एक रोज्न उसले चेतावनी दिएको अवस्था छ। आखिर इरानले कोसँग व्यापार गर्छ ? इरानमाथि अमेरिकी नयाँ प्रतिबन्धको असरअघि यो इरानी व्यापारिक साझेदार मुलुकबारे बुझौँ।
इरानसँग सबैभन्दा बढी व्यापार गर्ने चार मुलुक रहेको अन्तर्राष्ट्रिय व्यापार केन्द्रलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ। यता विश्व व्यापार संघको तथ्यांकमा इरानसँग धेरै व्यापार गर्ने सूचीमा १५ मुलुक छन्। चीन, इराक, संयुक्त अरब इमिरेट्स, टर्कीए, अफगानिस्तान, पाकिस्तान उक्त सूचीमा छन्। यस्तै, भारत, ओमान, रूस, अजरबैजान, युरोपेली युनियन, तुर्किमिस्तान, अर्मेनिया र इन्डोनेसिया ती १५ मुलुकको सूचीमा पर्छन्।