AarthikBikash
शनिबार, भदौ २७, २०८३
  • होमपेज
  • आर्थीक खबर
  • भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने

भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने

  • शनिबार, भदौ २७, २०८३
भदौको करदाता प्रोत्साहन पुरस्कार असोज १ गते घोषणा हुने

काठमाडौं – भदौ महिनाका लागि स्थगित गरिएको करदाता प्रोत्साहन पुरस्कारको विजेता असोज १ गते घोषणा हुने भएको छ।

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण पुरस्कार घोषणा कार्यक्रम स्थगित भएको थियो। अब भदौभर बिल–बिजक लिएर सामान खरिद गर्ने तथा अनलाइन कारोबार गर्ने उपभोक्तामध्येबाट ३३ जना विजेता छनोट गरिने आन्तरिक राजस्व विभागले जनाएको छ।

विभागका अनुसार भदौ १ देखि १५ गतेसम्मको कारोबारबाट १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ पुरस्कार पाउनेछन् भने एक जनाले १० लाख रुपैयाँको बम्पर पुरस्कार जित्नेछन्।

त्यस्तै, भदौ १६ देखि ३१ गतेसम्मको कारोबारबाट १६ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ र एक जनाले १० लाख रुपैयाँ बम्पर पुरस्कार पाउनेछन्।

यसरी भदौ महिनामा ३१ जनाले १ लाख ३३ हजार ३३४ रुपैयाँका दरले र दुई जनाले १० लाख रुपैयाँका दरले पुरस्कार पाउनेछन्।

पुरस्कारमा सहभागी हुन १ सय रुपैयाँभन्दा बढीको सामान खरिद गर्दा सक्कली भ्याट वा प्यान बिल लिनुपर्नेछ। नगद कारोबार गर्ने उपभोक्ताले विभागको करदाता प्रोत्साहन पुरस्कार पोर्टलमा बिल अपलोड गरी कुपन लिनुपर्नेछ। अनलाइनबाट भएको कारोबार भने प्रणालीमा स्वतः समावेश हुने विभागले जनाएको छ।

पुरस्कार रकममा २५ प्रतिशत कर कट्टी हुनेछ। कर कट्टीपछि १ लाख ३३ हजार ३३४ रुपैयाँको पुरस्कार पाउनेले १ लाख रुपैयाँ र १० लाख रुपैयाँको बम्पर पुरस्कार पाउनेले ७ लाख ५० हजार रुपैयाँ पाउनेछन्।

साउन महिनाको करदाता प्रोत्साहन पुरस्कारमा पनि ३३ जना उपभोक्ता विजेता बनेका थिए।

सम्बन्धित समाचार