AarthikBikash
शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • समाज
  • सेञ्चुरी बैंक घोटाला प्रकरणः सञ्चालकलाई मुद्दा नचलाउने सिआईबीको प्रस्ताव सरकारी वकिलद्वारा अस्वीकार

सेञ्चुरी बैंक घोटाला प्रकरणः सञ्चालकलाई मुद्दा नचलाउने सिआईबीको प्रस्ताव सरकारी वकिलद्वारा अस्वीकार

  • शुक्रबार, अशोज १८, २०८१
सेञ्चुरी बैंक घोटाला प्रकरणः सञ्चालकलाई मुद्दा नचलाउने सिआईबीको प्रस्ताव सरकारी वकिलद्वारा अस्वीकार

काठमाडौं-तत्कालिन सेञ्चुरी बैंकको दुई अर्ब कर्जा घोटाला प्रकरणमा प्रहरी र सरकारी वकिलको राय बाझिएको छ ।

प्रहरीले बैंकका सञ्चालकविरुद्ध मुद्दा नचलाउने राय दिएकोमा बिशेष सरकारी वकिल कार्यालयले त्यसलाई असहमति जनाउँदै थप अनुसन्धान गर्न भन्दै अनुसन्धान प्रतिवेदन फिर्ता गरिदिएको छ ।

सञ्चालकहरुको प्रष्ट संलग्नता देखिएपनि प्रहरीले मुद्दा नचलाउने भनेर राय लेख्नु नियमसंगत नभएको भन्दै थप अनुसन्धान गर्न निर्देशन दिइएको बिशेष सरकारी वकिल कार्यालयका एक अधिकारीले बताए ।

सिआइबीले कर्मचारीविरुद्ध मात्र मुद्दा चलाउन सिफारिस गरेको थियो ।

गत २७ जेठमा सिआइबीले सेञ्चुरी बैंकका तत्कालीन अध्यक्ष राजेशकुमार श्रेष्ठसहित सञ्चालक समितिका सदस्यहरू सुनिलकुमार न्यौपाने, प्रा.डा गीता प्रधान, रमेश कुमार निरौला, रणबहादुर श्रेष्ठ, राजेश कुमार दली, उमाकुमारी श्रेष्ठ र कर्मचारी शिवगोपाल रिसाललाई पक्राउ गरेको थियो । केही दिनमै उनीहरु छुटेका थिए ।

अहिले आफुहरुलाई जोगाउन उनीहरु गृहमन्त्री रमेश लेखकको समेत शक्ति प्रयोग गरिरहेका छन् ।

तर, बिशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहन सागर बश्यालले कर्मचारीलाई मुद्दा चलाएर सञ्चालकलाई जोगाउने प्रस्ताव ठाडै अस्वीकार गरेपछि यो अनुसन्धान पेचिलो बनेको छ ।

राजेशकुमार कांग्रेस नेता उमेश श्रेष्ठका भाइ हुन् । जसकारण उमेशले कांग्रेस सभापति शेरबहादुर देउवामार्फत सो मुद्दा मिलाउन गृहमन्त्री लेखकलाई दबाब दिइरहेका छन् ।

तर, कानूनी रुपमा उनीहरुलाई जोगाउन नमिल्ने अवस्था छ । किनकी सञ्चालक समितिले नै डेढ अर्ब कर्जा दिन स्वीकृती गरेको थियो । देउराली सहकारीका अध्यक्ष रविन्द्र चौलागाईलाई त्यसरी कमसल धितोमा धेरै कर्जा प्रवाह भएको थियो ।

रविन्द्र र कांग्रेस नेता उमेश घरजग्गा कारोबारका पार्टनर समेत हुन् । उनको सिफारिसमा बैंकले उनलाई नियम मिचेर कर्जा दिएको थियो । जून कर्जा नउठेपछि हाल समस्या भएको छ । सेञ्चुरी बैंकको त्यो भारी हाल प्रभु बैंकले बोकिरहेको छ ।

सिआइबीले देउराली सहकारीमाथि अनुसन्धान गर्ने क्रममा सेञ्चुरीको बदमासी पत्ता लगाएको हो । अनुसन्धान सुरु भएको आठ महिना हुँदा पनि अनुसन्धान टुंगिएको छैन ।

गत १५ फागुनमा सिआइबीले तत्कालीन सेञ्चुरी बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० मनोज न्यौपाने र तुलसी गौतमसहितका कर्मचारी पक्राउ गरेको थियो ।

दबाबकै भरमा त्यतीबेला उनीहरू छुटेका थिए । पछि रवि लामिछाने गृहमन्त्री हुँदा सञ्चालक नै पक्राउ परेकोमा अहिले पहुँचवाला सबैलाई जोगाउने खेल अघि बढेको छ ।

अनुसन्धानमा आएका दबाबका कारण अनुसन्धानमा आबद्ध प्रहरी अधिकारी समेत हैरान भइसकेका छन् ।

Facebook Comments

सम्बन्धित समाचार