काठमाडौं– तिब्बत केन्द्रविन्दु भएर मंगलबार बिहान गएको भूकम्पमा परी मृत्यु हुनेको संख्या ९५ पुगेको छ भने १३० जना घाइते भएका छन् ।
चिनियाँ सञ्चारमाध्यम साउथ चाइना मर्निङ पोस्टका अनुसार भूकम्पबाट ज्यान जानेको संख्या ९५ पुगेको हो । तिब्बतस्थित क्षेत्रीय विपद् राहत मुख्यालयलाई उद्धृत गर्दै समाचार संस्था साउथ चाइना मर्निङ पोस्टका अनुसार चिनियाँ राष्ट्रपति सी जिनपिङले भूकम्पपछि जीवन जोगाउन र क्षतिलाई न्यून गर्न सक्दो उद्धार प्रयास गर्न निर्देशन दिएका छन् ।सीले भनेका छन्–‘भूकम्पको निगरानी र पूर्वसूचना प्रणालीलाई बलियो बनाउन, आपत्कालीन उद्धार सामग्री तत्काल पठाउन, क्षतिग्रस्त पूर्वाधारको मर्मत कार्य छिटो सम्पन्न गर्न, प्रभावितहरूको आधारभूत आवश्यकता पूरा गर्न र सबैको सुरक्षित तथा न्यानो जाडो सुनिश्चित गर्न आवश्यक छ।’
समाचार एजेन्सी सिन्ह्वाका अनुसार भूकम्पको केन्द्रविन्दु २८.५ डिग्री उत्तर अक्षांश र ८७.४५ डिग्री पूर्व देशान्तरमा मापन गरिएको थियो। आज बिहान नेपाली समय अनुसार ६ बजेर ५० मिनेटमा चीनको सिजाङ्ग प्रान्तको सिगात्सेस्थित दिङ्गी गाउँमा केन्द्रविन्दु भएर शक्तिशाली भूकम्प गएको थियो । भूकम्पको धक्का नेपालमा समेत महसुस भएको थियो । नेपालको भूकम्प मापन केन्द्रले ७ म्याग्निच्युडको भूकम्प गएको रेकर्ड राखे पनि चीनको भूकम्प नेटवर्क केन्द्रले ६.८ तीव्रता मापन गरेको छ । यो भूकम्प १० किलोमिटर गहिराइमा थियो ।
नेपालमा १३ जना घाइते तिब्बतस्थित शिगात्से क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै गएको भूकम्पका कारण विभिन्न जिल्लामा १३ जना घाइते भएका छन् । नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांकअनुसार बारामा ११ घाइते भएका छन् । प्रहरीले भूकम्पका कारण काठमाडौं र काभ्रेमा १–१ जना घाइते भएका जनाएको छ । भूकम्पले ओखलढुंगामा ३ घरमा क्षति पुगेको छ । प्रहरीले जसमधये २ घरमा सामान्य क्षति पुगेको छ भने १ घर पूर्ण क्षतिग्रस्त बनेको छ । यस्तै सोलुखुम्बुमा ५ घरमा क्षति पुग्दा १ मा आंशिक, १ मा पूर्ण र ३ मा सामान्य क्षति पुगेको छ । संखुवासभामा १, ताप्लेजुङमा ३, सिन्धुपाल्चोकमा १ र रामेछापमा १ घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।