AarthikBikash
आइतवार, भदौ २१, २०८३
  • होमपेज
  • खेलकुद
  • साउदी अरेबियामाथि ५ विकेटको जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

साउदी अरेबियामाथि ५ विकेटको जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

  • आइतवार, भदौ २१, २०८३
साउदी अरेबियामाथि ५ विकेटको जितसँगै नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा

काठमाडौं – साउदी अरेबियालाई ५ विकेटले पराजित गर्दै नेपालले एसीसी प्रिमियर कपमा लगातार तेस्रो जित निकालेको छ। लगातार तीन खेल जितेपछि नेपाल एक खेल अगावै प्रतियोगिताको सेमिफाइनलमा पुगेको हो।

जितसँगै नेपालले समूह ‘ए’मा ३ खेलबाट ६ अंक जोड्दै शीर्ष स्थानसमेत सुरक्षित गरेको छ। समूह चरणको अन्तिम खेलमा नेपालले मंगलबार हङकङसँग प्रतिस्पर्धा गर्नेछ।

यसअघि नेपालले पहिलो खेलमा बहराइनलाई ७ विकेट तथा दोस्रो खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो।

आइतबार मलेसियाको वायोमास ओभलमा साउदी अरेबियाले दिएको १ सय ९१ रनको लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो।

नेपालका लागि गुल्सन झा ४४ र रोहित पौडेल २४ रनमा अविजित रहे। गुल्सनले ३५ बलमा ३ चौका र ३ छक्का प्रहार गरे भने रोहितले ३७ बलमा २ चौका हाने।

त्यस्तै, ईशान पाण्डेले ५९ बलमा २ चौकासहित ४० रन बनाए। देव खनालले ५८ बलमा १ चौका र १ छक्कासहित ३९ रनको योगदान दिए। ओपनर अर्जुन कुमालले १५ र आशिफ शेखले २० रन बनाए।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको साउदी अरेबिया ४९।२ ओभरमा १ सय ९० रनमा अलआउट भएको थियो।

साउदीका लागि ओपनर अब्दुल वाहिद अब्दुल गफरले सर्वाधिक ७७ रन बनाए। उनले ८९ बलमा १० चौका र २ छक्का प्रहार गरे। उनलाई ललित राजवंशीले एलबीडब्ल्यू आउट गरे।

मुहम्मद आतिफले ३० तथा मोहम्मद हिसाम शेखले २८ रन जोडे। यस्तै, मुहम्मद सकिबले १४, जैनुल अबिदिनले १२ र इस्तियाक अहमदले १० रन बनाए।

नेपालका लागि कप्तान सन्दीप लामिछानेले ३ विकेट लिए। उनले २ मेडन राख्दै ९ ओभरमा १९ रन खर्चिए। दीपेन्द्र सिंह ऐरीले ९।२ ओभरमा ४३ रन खर्चेर ३ विकेट लिए।

ललित राजवंशीले २ तथा शेर मल्ल र गुल्सन झाले समान १ विकेट लिए।

सम्बन्धित समाचार