काठमाडौं-नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताबाट अस्वीकृत भएकाहरूले सरकारविरुद्ध भ्रम फैलाइरहेको बताएका छन् ।
राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय भेलालाई शनिबार सम्बोधन गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।
उनले कांग्रेस र एमाले सहभागी अहिलेको सरकार अप्राकृतिक भन्नेहरूले जनतालाई दिग्भ्रमित बनाउन खोजेको बताए। जनताबाट अस्वीकृत भएकाहरूले त्यस्तो भ्रम फैलाइरहेको उनको भनाइ छ।
महासचिव पोखरेलले लोकतन्त्रमा जनताले पत्याएका दलले शासन गर्ने कुरा प्राकृतिक भएको प्रष्ट पारे । कांग्रेस एमाले सधैँ भरिका लागि नमिलेको भन्दै उनले जनताको बिचमा जाने बेलामा दुवै दल एक्लाएक्लै निर्वाचनमा सहभागी हुने बताए ।
देश बनाउनको लागि धेरै राजनीतिक दल भन्दा पनि ठूला र बलिया राजनीतिक दल आवश्यक रहेको उनले बताए ।
एमाले पार्टीको नीति एमालेको मात्र नीति नभएर देशको नीति बन्नुपर्ने बताएका पोखरेलले त्यसका लागि २०८४ मा एमालेको एकल बहुमतको सरकार हुनुपर्ने जिकिर गरे।
नेपाललाई असफल बनाउन चाहनेहरू सक्रिय भएकाले एमाले र केपी ओलीमाथि हमला भइरहेको उनको भनाइ छ।