काठमाडौं – ग्यास अभाव र वितरण प्रणालीमा देखिएको समस्या समाधान गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले आज बेलुकी ५ बजे उद्योगी तथा सम्बन्धित निकायसँग छलफल गर्ने भएका छन्।
यसअघि ग्यासको अभाव, कालोबजारी र आपूर्ति व्यवस्थापनलाई लिएर आलोचना भइरहेका बेला उद्योगमन्त्री गौरीकुमारी यादवले बिहीबार राजीनामा दिएकी थिइन्।
उनको राजीनामापछि उद्योग मन्त्रालयको जिम्मेवारी सम्हाल्न लागेका साहले पदभारसँगै ग्यास आपूर्तिको समस्या समाधानमा चासो देखाएका हुन्।
मन्त्री साहले बजारमा ग्यासको सहज आपूर्ति तथा वितरण प्रणालीलाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न उद्योगी तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिलाई बैठकमा बोलाएका छन्। पछिल्लो समय ग्यास नपाएर उपभोक्ता लामो लाइनमा बस्नुपर्ने अवस्था देखिएको र विभिन्न स्थानमा कालोबजारी बढेको गुनासो आएपछि बैठक बोलाइएको हो।
नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवानबहादुर चन्दका अनुसार मन्त्री साहले ग्यासको समस्या समाधानका विषयमा गम्भीर छलफल गर्न उद्योगीहरूलाई बोलाएका छन्।
उनका अनुसार विभिन्न सुरक्षा निकाय र वाणिज्य विभागको संयुक्त टोलीले बजार अनुगमन गरिरहेको भए पनि ग्यासको वितरण प्रणालीमा अझै सुधार आवश्यक देखिएको छ।