AarthikBikash
बिहिबार, असार ११, २०८३
  • होमपेज
  • राजनीति
  • काठमाडौंमा भोली दुर्गा प्रसाई र समाजवादी मोर्चाको आन्दोलन

काठमाडौंमा भोली दुर्गा प्रसाई र समाजवादी मोर्चाको आन्दोलन

  • बिहिबार, चैत्र १३, २०८१
काठमाडौंमा भोली दुर्गा प्रसाई र समाजवादी मोर्चाको आन्दोलन

काठमाडौं-भोली शुक्रबार काठमाडौंका दुई स्थानमा प्रदर्शन हुने भएको छ। नेकपा (माओवादी केन्द्र) सहितको समाजवादी मोर्चा र दुर्गा प्रसाई नेतृत्वको समूहले बेग्लाबेग्लै प्रदर्शन गर्न लागेका हुन्।

दुवै पक्षले प्रदर्शनका लागि काठमाडौं प्रशासन कार्यालयबाट अनुमति लिइसकेका छन्। प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार समाजवादी मोर्चालाई काठमाडौंको भृकुटीमण्डपमा र प्रसाईंलाई तीनकुनेमा प्रदर्शनका लागि अनुमति दिइएको छ।

समाजवादी मोर्चाले गणतन्त्रका पक्षमा प्रदर्शन गर्न लागेको हो भने प्रसाईं नेतृत्वको समूहले राजसंस्था पुनर्स्थापनालगायत एजेन्डा अघि सारेर प्रदर्शन गर्न लागेका हुन्।

दुवै कार्यक्रम शुक्रबार ११ बजेपछि मात्रै सुरू हुनेछ। दुई वटा प्रदर्शनलाई छुट्टाछुट्टै ठाउँ तोकिएको छ। उनीहरूले विभिन्न ठाउँबाट र्‍यालीसमेत गर्ने भएकोले सवारी अस्तब्यस्त हुने सम्भावना छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले दुई ठाउँमा हुने प्रदर्शनका लागि प्रहरीले सुरक्षालगायत आवश्यक तयारी गरिसकेको बताए।

‘बिहान छिटो कार्यक्रम गर्दा एसइई परीक्षा दिने विद्यार्थीहरूलाई समेत असर पर्ने भएकाले हामीले ११ बजेपछि गर्न अनुरोध गरेका छौं ।’ उनले भने–‘हाम्रो तर्फबाट दिनुपर्ने सुरक्षाका लागि हामी तयार नै छौं।’

काठमाडौंमा शुक्रबार तीन हजारभन्दा बढी प्रहरी खटिनेछन्।

नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टीले विभिन्न ठाउँबाट र्‍याली सुरू गर्ने तयारी गरेका छन्।

बबरमहल, कुपण्डोल, त्रिपुरेश्वर, सोह्रखुट्टे, मैतीदेवी, सुन्धारा, न्यूरोडलगायत क्षेत्रमा भेला भएर भृकुटीमण्डपमा र्‍याली गर्ने गरी कार्यक्रम तालिका सार्वजनिक गरेका छन्।

प्रसाईं पक्षले पनि काठमाडौंको सिनामंगल क्षेत्र र भक्तपुर क्षेत्रबाट र्‍यालीको तयारी गरिरहेका हुन्।

काठमाडौंमा बढी चाप हुने ठाउँमै प्रदर्शन हुने भएपछि ट्राफिक व्यवस्थापनको चुनौती छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं एसएसपी विनोद घिमिरेले प्रदर्शनबाट हुनसक्ने जामलाई कम गर्नेगरी योजना बनाइरहेको बताएका छन् ।

सम्बन्धित समाचार