काठमाडौं-आन्दोलनमा रहेको शिक्षकहरुले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेसंगै माध्यमिक शिक्षा परीक्षा (एसईई)को रिजल्ट अनिश्चित भएको छ ।
शिक्षकहरुले नतिजा प्रकाशन लगायतका सबै काम ठप्प पारेर आन्दोलनमा होमिएपछि एसईईको रिजल्ट अनिश्चित भएको हो ।
यो साताबाट उत्तरपुस्तिका परीक्षण सुरु हुनुपर्ने हो । तर, शिक्षकहरुले माग पुरा नभएसम्म एसईईको उत्तरपुस्तिका परीक्षण नगर्ने घोषणा गरेका छन् ।
‘उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइ रहेको छ । शिक्षकले परीक्षण नगर्ने भन्नुभएको छ । यो साताबाट परीक्षण हुनुपर्ने हो । परीक्षण प्रभावित हुँदा असार ७ मा निकाल्ने भनेको नतिजा प्रभावित हुन्छ जस्तो छ’, निमित्त प्ररीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने ।
विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको शिक्षक महासंघले आन्दोलनलाई थप सशक्त बनाउने भन्दै उत्तरपुस्तिका परीक्षण नगर्न, गोष्ठी तथा तालिममा सहभागी नहुन शिक्षकहरूलाई निर्देशन दिएको छ ।
गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक-कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गराउने सवालमा यो अन्तिम र निर्णायक आन्दोलन भएको महासंघले जनाएको छ ।
यो आन्दोलनलाइ थप सशक्त बनाउन २०८१ चैत्र २५ गतेबाट आम शैक्षिक हडतालको घोषणा गरिएको छ। आन्दोलनका कारण भर्ना अभियानसमेत प्रभावित भएको छ ।
कतिपय विद्यालयको वार्षिक परीक्षाको नतिजा समेत प्रभावित भएको छ ।