काठमाडौं-भारतका विद्युत्, आवास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको निमन्त्रणामा उनी आज बिहान दुईदिने भ्रमणका लागि नेपाल आएका हुन् ।
विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माणसम्पन्न कोशी कोरिडोर २२० केभी प्रसारण लाइन अन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार प्रसारण लाइन तथा २२०-१३३-३३ केभी तुम्लिङटार सबस्टेसन, २२०-३३ केभी बानेश्वर सबस्टेसन र २२०-१३३-३३ केभी बसन्तपुर सबस्टेसनको संयक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नेपाल र भारतको संयुक्त लगानीमा निर्माण गर्न लागिएको प्रसारणलाइनको सम्झौतापत्रमा मंगलबार नै हस्ताक्षर गरिनेछ ।
उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ । साथै बुधबार भारतीय मन्त्री खट्टरले मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको बताइएको छ ।