AarthikBikash
शनिबार, बैशाख ५, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • कच्चापदार्थको मूल्य बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

कच्चापदार्थको मूल्य बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

  • शनिबार, बैशाख ५, २०८३
कच्चापदार्थको मूल्य बढेको भन्दै पिउने पानीको मूल्य बढाउने महासंघको निर्णय

काठमाडौं – नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य समायोज वृद्धि गर्ने निर्णय गरेको छ ।

कच्चा पदार्थको मूल्यमा भएको भारी वृद्धि र ढुवानी खर्च बढेका कारण पुरानै मूल्यमा उद्योग सञ्चालन गर्न नसकिने भन्दै महासंघले मूल्य बढाउने निर्णय गरेको हो ।

महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै हाल पानी उद्योगमा प्रयोग हुने बोतल, क्याप, र्‍यापिङ रोल, जार र जार क्याप लगायतका कच्चा पदार्थको मूल्यमा करिब ४० प्रतिशतसम्म वृद्धि भएको जनाएको छ । साथै, पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण ढुवानी लागत पनि उल्लेख्य रूपमा बढेको उनको भनाइ छ ।

‘पछिल्लो समय पानी उद्योगमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ्ग रोल, जार, जार क्याप लगायत कच्चापदार्थहरूको मूल्यमा करिब ४० प्रतिशत भन्दा बढीसम्म वृद्धि भएको, डिजेल तथा पेट्रोलियम पदार्थको अत्यधिक मूल्यवृद्धिका कारण ढुवानी लागतमा उल्लेखनीय वृद्धि भएको, साथै अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएको कारण उद्योग सञ्चालन लागत अस्वाभाविक रूपमा बढेको छ,’ विज्ञप्तिमा भनिएको छ ।

साथै पछिल्लो समय विकसित अन्तर्राष्ट्रिय परिस्थिति, विशेषगरी इरान-इजरायल तनाव र इरान-अमेरिका सम्बन्धका कारण विश्व बजार र आपूर्ति प्रणालीमा परेको प्रभावले नेपालका पानी उद्योगहरू समेत प्रत्यक्ष प्रभावित भएको महासंघले विज्ञप्तिमा उल्लेख गरेको छ ।

सम्बन्धित समाचार