काठमाडौं – संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्दैछ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)का राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित कार्यदलले पूर्वमहान्यायाधिवक्ताहरुसँग संविधान संशोधनका विषयमा छलफल गर्न लागेको हो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज दिउँसो ३ः०० देखि ५ः०० बजेसम्म छलफल हुनेछ ।
छलफलका क्रममा सहभागीहरूबाट संविधान संशोधनका विषयमा आवश्यक सुझाव संकलन गरिने छ ।
यसअघि वैशाख १० गते बसेको कार्यदलको बैठकले पूर्वउच्चपदस्थ अधिकारी, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा प्रशासनिक विज्ञहरूसँग परामर्श गर्ने निर्णय गरेको थियो ।
सोहिअनुसार मंगलबार पनि कार्यदलले संवैधानिक निकायका पूर्वप्रमुख, पूर्वमुख्यसचिव, परराष्ट्रविद् तथा पूर्वप्रशासकहरूसँग छलफल गरेको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब तीन घण्टा चलेको उक्त परामर्शमा शासकीय स्वरूपदेखि सङ्घीय संरचना, निर्वाचन प्रणाली र संवैधानिक निकायलगायतका विषयमा गहन बहस भएको थियो।
संयोजक शाहले संविधान संशोधन जनअपेक्षा र वर्तमान आवश्यकता दुवै भएको उल्लेख गर्दै यसलाई दीर्घकालीन प्रभाव पार्ने संवेदनशील विषयका रूपमा सावधानीपूर्वक अघि बढाइने बताएका थिए।
यसैगरी छलफलमा सहभागी विज्ञहरूले शासकीय स्वरूप, निर्वाचन प्रणाली, सङ्घीयता, प्रदेश तथा स्थानीय तहको अधिकार, स्वतन्त्र न्यायपालिका र संवैधानिक निकायको संरचनामा सुधारका विभिन्न सुझाव दिएका थिए।