पोखरा – फेवा तालमा अचानक आएको हावाहुरी र छालका कारण कायक बोट पल्टिँदा पानीमा खसेका एक युवकलाई सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
बुधबार पोखरा महानगरपालिका–१८ खपौदी क्षेत्रमा भएको उक्त घटनामा तनहुँको भिमाद नगरपालिका घर भई हाल बैदाम बस्दै आएका २८ वर्षीय सुबिन ठकुरी अलपत्र परेका थिए।
उनले चलाइरहेको कायक बोट अचानक पल्टिँदा उनी तालमै खसेका थिए।
सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापा का अनुसार फेवा ताल वाच एन्ड रेस्क्यु टावरबाट तत्काल उद्धार टोली परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा खटिएको टोलीले ती युवकलाई सुरक्षित रूपमा किनारमा ल्याउन सफल भएको हो।
अचानक मौसम बिग्रँदा तालमा जोखिम बढ्ने भएकाले सतर्कता अपनाउन सुरक्षा निकायले सर्वसाधारणलाई आग्रह गरेको छ।