AarthikBikash
शनिबार, बैशाख २६, २०८३
  • होमपेज
  • राजनीति
  • कामु प्रधानन्यायाधीश सपनाले भनिन् : अन्यायविरुद्ध लडाइँ बाँकी नै छ, दुईतिहाइको डर नमान्नुस्

कामु प्रधानन्यायाधीश सपनाले भनिन् : अन्यायविरुद्ध लडाइँ बाँकी नै छ, दुईतिहाइको डर नमान्नुस्

  • शनिबार, बैशाख २६, २०८३
कामु प्रधानन्यायाधीश सपनाले भनिन् : अन्यायविरुद्ध लडाइँ बाँकी नै छ, दुईतिहाइको डर नमान्नुस्

काठमाडौं – कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले न्यायाधीशहरूलाई कुनै पनि राजनीतिक प्रभाव, डर वा दबाबमा नपरी निष्पक्ष रूपमा न्याय सम्पादन गर्न निर्देशन दिएकी छन् ।

७४औँ कानुन दिवसका अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै कामु प्रधानन्यायाधीश मल्लले दुईतिहाइ सरकारको दबाब वा महाअभियोगको धम्कीका कारण न्यायको मर्म कमजोर हुन नहुने स्पष्ट पारिन् ।

‘डर र प्रभावमा न्याय सम्भव छैन । चाहे त्यो दुईतिहाइ सरकारको डर होस् वा महाअभियोगको भय, न्यायाधीशहरू यी सबै संकुचित घेराबाट मुक्त हुनुपर्छ,’ उनले भनिन् ।

उनले सम्पूर्ण न्यायकर्मीलाई अदम्य साहसका साथ न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा जोगाउन आह्वान गर्दै निर्भीक भएर फैसला गर्न आग्रह गरिन् ।

कामु प्रधानन्यायाधीश मल्लले राजनीतिक शक्ति सन्तुलन, सरकारको बहुमत वा बाह्य प्रभावका आधारमा न्याय प्रभावित हुन नहुने धारणा राखिन् ।

‘न्यायकर्मीहरू कुनै पनि शक्तिसँग डराउनु पर्दैन । उनीहरूको कर्तव्य केवल संविधान र कानुनको रक्षा गर्नु हो,’ उनले भनिन् ।

आफ्नो व्यक्तिगत संघर्षको अनुभव सुनाउँदै उनले कानुन व्यवसायी जीवनदेखि नै विभेद, अन्याय र असमानताविरुद्ध लड्दै आएको बताइन् ।

‘मैले जीवनभर अन्यायका विरुद्ध लडाइँ लडेँ, र त्यो लडाइँ अझै बाँकी छ,’ उनले भनिन्, ‘सक्षम, स्वच्छ र सही न्यायका लागि म सधैँ प्रतिबद्ध रहनेछु ।’

उनले वर्तमान अवस्थामा संविधानवाद, विधिको शासन र नागरिक अधिकारको संरक्षणका लागि नेपाल बार एसोसिएसन, सञ्चारमाध्यम र नागरिक समाजको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको उल्लेख गरिन् ।

कार्यक्रममा राष्ट्रपति, उपराष्ट्रपतिसहित राज्यका विभिन्न विशिष्ट व्यक्तित्वहरूको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार