AarthikBikash
आइतवार, जेष्ठ १७, २०८३
  • होमपेज
  • खेलकुद
  • पीएसजीको ऐतिहासिक सफलता, आर्सनल पराजित

पीएसजीको ऐतिहासिक सफलता, आर्सनल पराजित

  • आइतवार, जेष्ठ १७, २०८३
पीएसजीको ऐतिहासिक सफलता, आर्सनल पराजित

काठमाडौ‌ – पेरिस सेन्ट जर्मेन (पीएसजी) ले आर्सनलविरुद्धको रोमाञ्चक र तनावपूर्ण फाइनल खेलमा पेनाल्टी सुटआउटमा ४–३ को जित निकाल्दै युरोपेली च्याम्पियन्स लिगको उपाधि सुरक्षित राखेको छ।

बुडापेस्टको पुस्कास एरेनामा निर्धारित र थप गरिएको समय १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको थियो। यस जितसँगै सन् २०१६ देखि २०१८ सम्म रियल म्याड्रिडले लगातार उपाधि जितेयता च्याम्पियन्स लिगको उपाधि रक्षा गर्ने पीएसजी पहिलो क्लब बनेको छ।

११ दिन अघि मात्र २२ वर्षपछि प्रिमियर लिगको उपाधि जितेर उच्च मनोबलमा रहेको आर्सनलले खेलको सुरुआतमै अग्रता लिएको थियो।

छैटौँ मिनेटमा काई हाभर्टजले उत्कृष्ट गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाए।  यो गोलसँगै हाभर्टज दुई फरक क्लबबाट च्याम्पियन्स लिगको फाइनलमा गोल गर्ने इतिहासकै चौथो खेलाडी बनेका छन्।

आर्सनलको मजबुत रक्षापंक्तिले पहिलो हाफभर पीएसजीका स्टार खेलाडी खिचा कभारात्स्केलिया र मिडफिल्डलाई रोकेको थिउो। पहिलो हाफमा पीएसजीले ३२ पटक आक्रमण गर्दा आर्सनलले मात्र ३ पटक प्रयास गरेको थियो।

तर, खेलको ६५औँ मिनेटमा आर्सनलका क्रिस्टियन म्याक्वेराले पेनाल्टी बक्सभित्र कभारात्स्केलियालाई लडाएपछि पीएसजीले पेनाल्टीको अवसर पायो। जसलाई ओस्मान डेम्बेलेले सहजै गोलमा परिणत गर्दै खेल १–१ को बराबरीमा ल्याए।  त्यसपछि दुवै टोलीले केही राम्रा अवसरहरू सिर्जना गरे पनि गोल हुन सकेन र खेल अतिरिक्त समय हुँदै पेनाल्टी सुटआउटमा पुग्यो।

पेनाल्टी सुटआउटमा आर्सनलका एबेरेची एजे र ग्याब्रिएलले गोल गर्न सकेनन्। ग्याब्रिएलको अन्तिम प्रहार क्रसबार भन्दा माथिबाट बाहिरिएपछि पीएसजीको जित पक्का भएको थियो।

पीएसजीका लागि लुकास बेराल्डोको पेनाल्टी प्रहार निर्णायक बन्यो।  आर्सनलले यस सिजनको च्याम्पियन्स लिगमा निर्धारित समयभित्र कुनै पनि खेल नहारी उपविजेतामा चित्त बुझाउनु पर्यो।

पीएसजीका मुख्य प्रशिक्षक लुइस एनरिकेको नेतृत्वमा क्लबले खेलेका सबै ६ वटा पेनाल्टी सुटआउटमा जित हासिल गरेको छ।  ५६ वर्षीय एनरिकेले आफ्नो प्रशिक्षण करियरमा खेलेका १३ वटा वान–अफ (एक खेलको फाइनल) मध्ये १२ वटामा उपाधि कीर्तिमान समेत बनाएका छन्।

उपाधि जितेपछि खुसी व्यक्त गर्दै एनरिकेले भने, ‘यो जित गत वर्षको भन्दा अझ विशेष छ, किनकि आर्सनलविरुद्ध खेल्न कति गाह्रो छ भन्ने हामीलाई थाहा थियो। यो फाइनल एउटा ठूलो लडाइँ थियो र सिजनभरको प्रदर्शनका आधारमा हामी यसको हकदार थियौँ।’

सम्बन्धित समाचार