AarthikBikash
शुक्रबार, जेष्ठ २९, २०८३
  • होमपेज
  • राजनीति
  • अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो, संसदीय छानबिन हुनुपर्छ : नेकपा

अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो, संसदीय छानबिन हुनुपर्छ : नेकपा

  • शुक्रबार, जेष्ठ २९, २०८३
अर्थमन्त्रीले करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो, संसदीय छानबिन हुनुपर्छ : नेकपा

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेमाथि छानबिन गर्न संसदीय समितिको माग गरेको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपाका सांसद वर्षमान पुनले सो माग गरेका हुन्।

पूर्व अर्थमन्त्री समेत रहेका पुनले अर्थमन्त्री वाग्लेले ‘पुराना दलले ६७ वटा हेरफेर गरेकोमा मैले ७ वटामा हेरफेर गरेँ’ भनी संसद्मा खुलेआम स्वीकार गरेकाले उनीमाथि छानबिन समिति गठन गर्नुपर्ने बताए।

उनले भने- ‘सातवटा करका दर हेरफेर गरेको खुल्लामखुल्ला स्वीकार्नुभो । उल्टो धम्की दिँदै मैले गरेकै हुँ भन्नुभएको छ । यो आर्थिक अपराध हो । संसदीय छानबिन गरिनुपर्छ ।’

अर्थमन्त्रीले धाकधम्की दिएको र वित्तीय अपराध गरेको आरोप लगाउँदै पुनले थप भने- ‘अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ । यसमा हाम्रो गम्भीर आपत्ति छ ।’

बिहीबार आर्थिक विधेयकमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा अर्थमन्त्रीले सांसदहरूप्रति आक्रोश पोख्दै  ‘तपाईंहरुको काण्डबारे पनि अनभिज्ञ छैनन्, ती पनि खुल्नेछन्’ भन्ने अभिव्यक्ति दिएका थिए ।

अर्थमन्त्री डा. वाग्लेले यही जेठ १५ गते ल्याएको आर्थिक विधेयकका १६ पेज हटाएर अर्थमन्त्रालयले नयाँ रुपमा विधेयक अगाडि सारेपछि यो विषयले राजनीतिक वृत्तमा बहस उत्पन्न गरेको छ।

सम्बन्धित समाचार