AarthikBikash
आइतवार, असार २८, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

  • आइतवार, असार २८, २०८३
भारतीय विमानस्थलबाट श्रमिक पठाउने १५९ म्यानपावर कम्पनी कारबाहीमा

काठमाडौं – वैदेशिक रोजगार विभागले अनुमति नलिई भारतीय विमानस्थल प्रयोग गरेर नेपाली श्रमिकलाई विदेश पठाउने १५९ म्यानपावर कम्पनीलाई कारबाही गरेको छ।

वैदेशिक रोजगार ऐन, २०६४ विपरीत कार्य गरेको ठहर गर्दै विभागले ती कम्पनीलाई पहिलो पटक सचेत गराएको हो।

विभागले २०८२ चैतदेखि २०८३ जेठसम्म श्रम स्वीकृति लिएर विदेश गएका श्रमिकको उडान विवरण अध्ययन गर्दा ६७८ म्यानपावर कम्पनीले विवरण बुझाएका थिए। तीमध्ये १५९ कम्पनीले विभागको अनुमति बिना भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको भेटिएको हो।

यस्तै, विभागले माग गरेको विवरण नबुझाउने ४३९ म्यानपावर कम्पनीलाई पनि पहिलो पटक सचेत गराउँदै आवश्यक विवरण तत्काल बुझाउन निर्देशन दिएको छ। पटक–पटक कानुन उल्लंघन गर्ने आठ कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिबाना गरिएको विभागले जनाएको छ।

वैदेशिक रोजगार ऐनअनुसार नेपाली श्रमिकलाई स्वदेशी विमानस्थलबाट मात्र विदेश पठाउन पाइन्छ भने भारतीय विमानस्थल प्रयोग गर्नुअघि विभागको पूर्वस्वीकृति लिन अनिवार्य छ।

तर, भारतीय विमानस्थल हुँदै श्रमिक पठाइएको गुनासो बढेपछि विभागले २०८३ असार २६ गते सूचना जारी गर्दै सम्बन्धित संस्थासँग प्रयोग गरिएको विमानस्थलको विवरण माग गरेको थियो।

विभागले सबै वैदेशिक रोजगार व्यवसायीलाई ऐन, नियम तथा विभागीय निर्देशनको पूर्ण पालना गर्न आग्रह गर्दै भविष्यमा यस्ता उल्लंघन दोहोरिए थप कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।

सम्बन्धित समाचार