काठमाडौं – अण्डाको मूल्य बढ्न थालेको छ । ‘बर्डफ्लु’को प्रभावका कारण गिरावट आएको उत्पादन घटेको अवस्थामा माग बढेपछि अण्डाको मूल्य बढ्न थालेको हो ।
नेपाल लेयर्स कुखुरापालक सङ्घले ठूला फार्महरूको मूल्य लिएर बजार मूल्य तय गर्ने गर्दछ। सङ्घका अनुसार आजबाट लागू हुनेगरी ठूलो अण्डा प्रतिक्रेट (३० वटाको) रु ४५० बाट ५०० पुगेको छ ।
मध्यम अण्डा रु ४२० वाट ४७० पुगेको छ। सानो अण्डा रु ४१५ पुगेको छ। सबैमा प्रतिक्रेट रु ५० बढेको हो।
नेपाल लेयर्स कुखुरापालक सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलले अण्डको माग बढ्न थालेपछि मूल्य बढ्न थालेको बताए।
दैनिक ४५ लाख गोटा हाराहारी अण्डा उत्पादन हुँदै आएकामा वर्डफ्लुका कारण घटेर २८ लाख हाराहारीमा झरेको छ।
जेठको अन्तिममा एक क्रेट (३० वटा) अण्डाको रु ५५० मा बिक्री भएकामा झरेर रु ४५० मा आइपुगेको थियो। एक क्रेट अण्डाको लागत मूल्य ५७३ रुपैयाँ ६० पैसा पर्न आउँदछ । प्रतिगोटा रु १९ रुपैयाँ १२ पैसा पर्न आउँछ।