काठमाडौं- साताको पहिलो कारोबार दिन आज (सोमबार) नेप्से दोहोरो अंकले बढेको छ।
दिनभर उतारचढाव रहेको नेप्से अन्तत: ४१.७० अंकले बढेर बन्द भएको हो ।
अघिल्लो कारोबार दिनको तुलनामा आज १.५५ प्रतिशतले बढ्दै नेप्से २७१९.२४ विन्दुमा रोकिएको छ।
नेप्सेको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ।
आज नेप्सेमा ३४३ कम्पनीको ६७ हजार १५५ पटकको कारोबारमा एक करोड २२ लाख ४५ हजार ३३७ कित्ता सेयर किनबेच भए। जसअनुसार सोमबार पाँच अर्ब ५१ करोड २६ लाख ८८ हजार ९७९ रुपैयाँको कारोबार भयो।
नेप्सेमा आज २३९ कम्पनीका मात्र सेयरमूल्य बढे। ३२ कम्पनीका सेयरमूल्य ओरालो लाग्दा पाँच कम्पनीका सेयरमूल्य स्थिर रहे। नेप्सेमा आज (सोमबार) १३ समूहको कारोबार भएकामा म्युचुअल फन्ड समूहको सूचक घट्यो भने बाँकी सबै १२ समूहका सूचक बढेर हरियाली भए।
जसअनुसार वाणिज्य बैंक ०.५५‚ विकास बैंक १.४८‚ फाइनान्स ०.९३‚ होटेल तथा पर्यटन १.९८‚ जलविद्युत् २.७९‚ लगानी १.५५‚ जीवन बिमा ०.८४‚ उत्पादन तथा प्रशोधन ३.२१ र लघुवित्त उपसमूहको सूचक ०.३७ प्रतिशतले उकालो लागे।
म्युचुअल फन्ड समूहको सूचक ०.०२ प्रतिशतले घट्दा निर्जीवन बिमा ०.४४‚ अन्य २.८१ र व्यापार समूहको उपसूचक १.१४ प्रतिशतले बढे।
नेप्सेमा एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले १४.९७ प्रतिशतले आम्दानी गरे। यस्तै आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेड लगानीकर्ताले भने ६.८६ प्रतिशतले सेयरमूल्य गुमाए।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत् कम्पनी लिमिटेड अग्रस्थानमा रह्यो। सोमबार यसको २९ करोड १५ लाख ५२ हजार १५४ रुपैयाँको कारोबार भयो।
त्यस्तै कारोबार भएका सेयर संख्याका आधारमा आज आँखुखोला नै अगाडि रह्यो। सोमबार यसको सात लाख ८५ हजार ५३५ कित्ता सेयर कारोबार भयो। यसको आज अन्तिम कारोबार मूल्य प्रतिकित्ता ३७४ रुपैयाँ कायम रह्यो।
केही दिनदेखि निरन्तर घटेको शेयर बजार नयाँ आवको शुरु दिनदेखि वृद्धि हुँदा लगानीकर्ताहरुमा आशा पलाएको छ।
यसअघि शेयर बजार शिथिल बनेपछि लगानीकर्तहरुले विरोध समेत जनाएका थिए । त्यसपछि दुईतिन दिनदेखि शेयर बजार सानो अंकमा बढेको थियो ।