AarthikBikash
आइतवार, साउन २४, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा

डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा

  • आइतवार, साउन २४, २०८३
डिम्ब तस्करी प्रकरणमा डा. नूतन शर्मा बयानपछि हाजिर जमानीमा रिहा

काठमाडौं – १७ वर्षीया किशोरीको गैरकानुनी रूपमा डिम्ब (अण्डा) निकालिएको घटनामा संलग्न रहेको आरोप लागेकी डा. नूतन शर्मासँग प्रहरीले बयान लिएको छ।

जिल्ला प्रहरी परिसर ललितपुरले डा. शर्मालाई नियन्त्रणमा लिएर बयान लिएपछि हाजिर जमानीमा रिहा गरेको हो।

उनी पछिल्लो समय फिलिपिन्स गएकी थिइन्। त्यहाँबाट फर्किएपछि निवेदन दिएर  बिहीबार प्रहरी परिसरमा उपस्थित भएकी थिइन्।

सोही दिन सरकारी वकिलको कार्यालयमा लगेर बयान लिइएको थियो।

प्रहरी स्रोतका अनुसार बयानका क्रममा डा. शर्माले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै इन्कारी बयान दिएकी छन्।

गत असार १४ गते ललितपुरको ग्वार्कोस्थित बीएण्डबी अस्पतालको आईभीएफ सेन्टरमा ती किशोरीको डिम्ब निकालिएको थियो। किशोरीलाई डिम्ब निकाल्न लगाउन बिचौलियाको भूमिका खेलेको आरोपमा प्रहरीले यसअघि नै लमजुङ घर भई इमाडोलमा ब्युटिसियनको काम गर्ने राधिका गोतामेलाई पक्राउ गरेको थियो।

प्रहरी अनुसन्धानका क्रममा किशोरीलाई ३० हजार रुपैयाँ दिएर डिम्ब निकालिएको खुलेको छ। डिम्ब निकालेपछि किशोरीको स्वास्थ्यमा समस्या देखिएपछि मात्र परिवारले घटनाबारे थाहा पाएका थिए।

पीडित परिवारले साउन १ गते जिल्ला प्रहरी परिसर ललितपुरमा चिकित्सक र बिचौलियाविरुद्ध जाहेरी दिएका थिए। डा. शर्मालाई पक्राउ गर्न प्रहरीले यसअघि दुई पटक अदालतसँग अनुमति मागे पनि अदालतबाट अनुमति पाएको थिएन।

पक्राउ अनुमति नपाएपछि सरकारी वकिलको सहमतिमा डा. शर्मा र बिचौलिया गोतामेलाई हाजिर जमानीमा राखेर थप प्रमाण जुटाउन प्रहरीलाई निर्देशन दिइएको छ।

ललितपुर प्रहरीका अनुसार सरकारी वकिल कार्यालयको सहमतिमा उनलाई हाजिर जमानीमा छाडिए पनि घटनाबारे थप अनुसन्धान भने जारी छ।

साथै प्रहरीले घटनामा अन्य व्यक्तिको संलग्नता तथा कानुनी पक्षबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

सम्बन्धित समाचार