काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले नेपाली स्याउ बजारमा आएको समयमा विदेशी स्याउको आयात रोक्न सरकारसँग आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमार्फत शाहीले प्रधानमन्त्री र कृषि मन्त्रीलाई लक्षित गर्दै नेपाली किसानको मेहनतको सम्मान गर्दै स्वदेशी उत्पादनलाई प्राथमिकता दिन अपिल गरेका हुन् ।
विशेषगरी जुम्लालगायत हिमाली जिल्लाका किसानले उत्पादन गरेको स्याउ नेपाली उपभोक्ताले रोज्नुपर्ने उनको भनाइ छ।
‘मननीय प्रधानमन्त्रीज्यू तथा कृषि मन्त्रीज्यूलाई अपिल—नेपाली स्याउ बजारमा आएको बेला विदेशी स्याउको आयात रोकिदिनुहोस्,’ शाहीले सामाजिक सञ्जालमार्फत आग्रह गरेका छन्।
उनले नेपाली स्याउको प्रवर्द्धन र उपभोग बढाउन सके करिब ६ अर्ब रुपैयाँ नेपालमै राख्न सहयोग पुग्ने दाबीसमेत गरेका छन्। स्वदेशी उत्पादनलाई प्राथमिकता दिने अभियानमा सम्पूर्ण नेपालीलाई साथ दिन उनले आग्रह गरेका छन्।
‘जुम्लालगायत हिमाली जिल्लाका किसानको मेहनतको सम्मान गर्दै नेपाली स्याउ रोजौँ। यस अभियानले करिब ६ अर्ब रुपैयाँ नेपालमै राख्न सहयोग गर्नेछ,’ उनले भनेका छन्।
शाहीले किसानले उत्पादन गरेको स्याउ बजारसम्म पुर्याउने क्रममा कुनै अवरोध नहोस् भनेर प्रहरी प्रमुख तथा प्रदेश प्रमुखसँग आवश्यक समन्वय गरिसकेको दाबी गरेका छन्।