काठमाडौं – सरकारले रक्षा सचिव केदारनाथ शर्मालाई गृह मन्त्रालयको सचिवमा सरुवा गरेको छ।
हालका गृह सचिव राजकुमार श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई गृह मन्त्रालयमा सरुवा गर्ने निर्णय गरेको हो।
यसैगरी, सरकारले वरिष्ठ सहसचिव इन्दु घिमिरेलाई सचिवमा बढुवा गर्दै रक्षा मन्त्रालयको सचिवमा पदस्थापन गरेको छ। सचिवमा बढुवा सिफारिस समितिबाट पहिलो नम्बरमा सिफारिस भएकी घिमिरेलाई मन्त्रिपरिषद्ले सचिवमा बढुवा गर्ने निर्णय गरेको हो।
घिमिरे सचिवमा बढुवा हुनुअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा कार्यरत थिइन्। रक्षा सचिव शर्मालाई गृहमा सरुवा गरेपछि रिक्त भएको रक्षा सचिवमा नवनियुक्त सचिव घिमिरेलाई पदस्थापन गरिएको हो।
सचिवमा बढुवा भएलगत्तै पहिलो पदस्थापनमै रक्षा मन्त्रालयको जिम्मेवारी पाउने अवसर घिमिरेले पाएकी छन्।