काठमाडौं – नेपाली फाइटर रविन्द्र ढाँटले मिक्स मार्सल आर्टस् (एमएमए) युएफसी सिजन–५ को ब्यान्टमवेट विधामा फाइनल प्रवेश गर्दै नेपाली खेलकुदमा नयाँ इतिहास रचेका छन् ।
चीनको सांघाईमा शुक्रबार भएको रोमाञ्चक सेमिफाइनलमा रविन्द्रले न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
रविन्द्र युएफसीको फाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बनेका छन्। उनको यो उपलब्धिलाई नेपाली एमएमएको अन्तर्राष्ट्रिय यात्रामा महत्वपूर्ण सफलता मानिएको छ ।
फाइनलमा रविन्द्रले जापानका रो टोजिमासँग प्रतिस्पर्धा गर्नेछन्। उपाधिका लागि हुने उक्त भिडन्तमा रविन्द्रको लक्ष्य नेपाली एमएमएको इतिहासमै अर्को ठूलो उपलब्धि थप्नु हुनेछ।
सेमिफाइनल जितपछि रविन्द्रले नेपालमा अहिले कठिन परिस्थिति रहे पनि नेपालीहरू हिम्मत नहार्ने सन्देश दिएका छन्।
उनले भने, ‘नेपालमा अहिले कठिन समय छ। तर पनि हामी उठ्नेछौँ। शिर उठाऊ नेपालीहरू१’
बझाङबाट अन्तर्राष्ट्रिय रिङसम्म पुगेका ‘बाघ’ रविन्द्र अब युएफसी सिजन–५ को उपाधि जितेर नेपालको नाम विश्वस्तरमा चम्काउने लक्ष्यसहित अब फाइनल भिड्ने छन् ।