काठमाडौं – रसुवाको भोटेकोसी नदीमा आएको बाढीका पीडितलाई राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउन अमेरिकाको विदेश मन्त्रालयले थप वित्तीय सहायता स्वीकृत गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयको इन्टरनेसनल नार्कोटिक्स एन्ड ल इन्फोर्समेन्ट अफेयर्स ब्युरोले नेपाल प्रहरीलाई फोरेन्सिक सहायता तथा डीएनए किट उपलब्ध गराउन १० लाख डलर स्वीकृत गरेको विदेश मन्त्रालयले जनाएको हो ।
यससँगै अमेरिकाले हालसम्म कुल ५० लाख डलरभन्दा बढीको मानवीय, स्वास्थ्य तथा फोरेन्सिक सहायता उपलब्ध गराइसकेको जनाएको छ ।
प्रभावित क्षेत्रमा रहेका अमेरिकी नागरिकको सुरक्षालाई सर्वोच्च प्राथमिकतामा राखिएको पनि विदेश मन्त्रालय जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
अमेरिकी सहायताअन्तर्गत विश्व खाद्य कार्यक्रम मार्फत ३० लाख डलर बराबरको खाद्य तथा लजिस्टिक सहायता समावेश गरिएको बताइएको छ ।
यस सहायताबाट बाढी प्रभावित १० हजार परिवारलाई तीन महिनासम्म आपत्कालीन भोजन उपलब्ध गराइने बताइएको छ ।