काठमाडौं – सरकारले करिब चार महिनापछि सार्वजनिक सवारीसाधनको दर्ता प्रक्रिया पुनः खुला गरेको छ। आगामी १ असोजदेखि लागू हुने गरी दर्ता खुला गरिएको हो।
यातायात व्यवस्था विभागका अनुसार काठमाडौं उपत्यकाबाहेकका क्षेत्रमा विद्युतीय सार्वजनिक सवारीसाधन (ईभी) लाई प्राथमिकता दिँदै दर्ता गर्न पाउने व्यवस्था गरिएको छ।
काठमाडौं उपत्यकामा भने सबै प्रकारका सार्वजनिक सवारीसाधनको दर्ता खुला गरिएको छैन। उपत्यकाभित्र स्कुल बस र सट्टाभर्नाका लागि ल्याइने सवारीसाधन मात्र दर्ता गर्न पाउने विभागले जनाएको छ।
यसअघि विभागले २०८३ जेठ ७ गते सूचना जारी गर्दै अर्को निर्णय नभएसम्म नेपाल भित्रिने सम्पूर्ण सार्वजनिक सवारीसाधनको दर्ता रोक्का गरेको थियो। त्यसपछि साउन १८ गतेदेखि मालवाहक सवारीसाधनको दर्ता खुला गरिएको थियो। अहिले यात्रुवाहक सार्वजनिक सवारीसाधनको दर्ता पनि सर्तसहित खुला गरिएको हो।
यो निर्णय कार्यान्वयन गर्न विभागले कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्बन्धित मन्त्रालय (यातायात व्यवस्थापनको जिम्मा पाएका मन्त्रालय) र देशैभरका स्थानीय तहलाई निर्देशन दिइसकेको छ ।
यसअघि ८ असारसम्म एलसी खोलिसकेका र नेपाल आइसकेका सार्वजनिक सवारीसाधनलाई समेत दर्ता गरिएको विभागले जनाएको छ।