काठमाडौं – नेपाली कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शथपलगत्तै केन्द्रीय समितिको बैठक बस्ने भएको छ। दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा शपथ ग्रहण र पदबहाली हुँदै छ।
शपथलगत्तै नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक बस्ने सहमहामन्त्री प्रकाश रसाइली स्नेहीले बताए।
उनले भने–‘शपथपछि केन्द्रीय समितिको बैठक बस्छ। बैठकमा सभापतिले समसामयिक विषयमा ब्रिफिङ गर्नुहुन्छ। आजको बैठक अरू एजेण्डामा प्रवेश गर्दैन।’
बैठकले महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पङ्क्तिलाई धन्यवाद ज्ञापनलगायतका विषयमा निर्णय गर्ने उनले बताए।
कांग्रेसको विधान अनुसार सभापतिले ४ सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र ६६ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। तर आजको बैठकले मनोनयनबारे निर्णय नगर्ने उनले बताए।
४ केन्द्रीय सदस्यको शपथ रोकियो
नेपाली कांग्रेसले नवनिर्वाचित ४ केन्द्रीय सदस्यको शपथ रोक्ने भएको छ। अदालतमा मुद्दा विचाराधीन रहेकाले १५ औँ महाधिवेशनबाट निर्वाचित चार केन्द्रीय सदस्यको शपथ रोक्न लागेको हो।
अदालतमा मुद्दा रहेकाले नवनिर्वाचित केन्द्रीय सदस्य सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले शपथ गर्न नपाउने भएका हुन्।
खड्का केन्द्रीय सदस्यमा विजयी भएपनि निर्वाचन समितिले निर्वाचित भएकोसम्म घोषणा गरेको छैन।
त्यस्तै, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको पनि शपथ रोक्न माग गरेका छन्। भट्ट ३६ वर्ष पुगेको भन्दै हिजो निर्वाचन आयोगमा उजुरी दिएका छन्।