AarthikBikash
बिहिबार, कार्तिक १३, २०८३
  • होमपेज
  • ब्रेक्इङ न्युज
  • सहुलियत अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

सहुलियत अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

  • बिहिबार, कार्तिक १३, २०८३
सहुलियत अनुदान दिलाइदिने भन्दै ५ करोड ८० लाख ठगी, दुई जना पक्राउ

काठमाडौं – कृषि फार्म सञ्चालनका लागि सरकारी सहुलियत अनुदान दिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३, ताहाचलका ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४, नखिपोटका ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्। प्रहरीका अनुसार महर्जन तिलक बुढाथोकी नामले समेत चिनिन्छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का अनुसार उनीहरूले सिंहदरबारस्थित विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको र सहजै सहुलियत अनुदान उपलब्ध गराइदिन सक्ने भन्दै पीडितलाई विश्वासमा लिएका थिए।

सरकारी निकायमा पहुँच रहेको भन्दै अनुदानको आश्वासन दिएर उनीहरूले पटक–पटक गरी ठूलो रकम असुलेको आरोप छ।

यस प्रकरणमा जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी रहेको ठगीसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

अनुदान उपलब्ध गराइदिने भन्दै रकम लिएको विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

सीआईबीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर दुवै जनालाई नियन्त्रणमा लिइएको हो।

पक्राउ परेका उनीहरूलाई कात्तिक ११ गते जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार