काठमाडौं – प्रशासन सेवाका पाँच उपसचिव सहसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । जेष्ठता तथा कार्यसम्पादन मूल्यांकनका आधारमा उनीहरूलाई बढुवाका लागि सिफारिस गरिएको हो।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा रहेको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै बढुवा सिफारिस हुने उपसचिवहरूको नाम सार्वजनिक गरेको हो।
सिफारिस हुनेमा मोहनशरण भण्डारी, तीर्थ प्रकाश पौडेल, रामेश्वर पोखरेल, कमलबहादुर थापा र पुष्पराज कटुवाल रहेका छन्। भण्डारी लेखा समूहका उपसचिव हुन् भने पौडेल, पोखरेल, थापा र कटुवाल सामान्य प्रशासन समूहका उपसचिव हुन्। उनीहरू एकै दिन उपसचिव भएका थिए।
हाल भण्डारी राजस्व न्यायाधिकरणमा कार्यरत छन्। पौडेल खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, पोखरेल रक्षा मन्त्रालय, थापा भूमि प्रशासन कार्यालय धनकुटा र कटुवाल सल्यानको कुपिण्डे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत छन्।
यसैगरी नेपाल इन्जिनियरिङ सेवा, सिभिल इन्जिनियरिङ समूहअन्तर्गत जनरल उपसमूहका मोहनदत्त भट्ट तथा हाइवे उपसमूहका सुजन अधिकारी, रामकुमार देव र सन्तोषकुमार कर्णलाई पनि सहसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ।