नवलपरासी – पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेको छ।
तस्करी गरी भारततर्फ लैजाँदै गरेको खरबुजाको बीउ नियन्त्रणमा लिने क्रममा भएको झडपमा चार जना सशस्त्र प्रहरी घाइते भएका छन् ।
पाल्हीनन्दन गाउँपालिका–५, गेरमा भएको घटनामा करिब डेढ सय जनाको समूहले सात जनाको सशस्त्र प्रहरी टोलीमाथि ढुंगामुढा प्रहार गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीका अनुसार सीमा सुरक्षा गुल्म हरपुरबाट सशस्त्र प्रहरी नायब निरीक्षकको नेतृत्वमा खटिएको टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरिएको खरबुजाको बीउ नियन्त्रणमा लिन खोज्दा तस्कर समूहले आक्रमण गरेको थियो ।
सानो संख्यामा रहेको सुरक्षा टोलीमाथि ठूलो समूहले आक्रमण गरी नियन्त्रणमा लिइएको सामानसमेत खोसेर लगेपछि अवस्था तनावपूर्ण बनेको थियो। स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले ६ राउन्ड हवाई फायर गरेको बताइएको छ ।
सशस्त्र प्रहरीले सुरुमा २० देखि २५ बोरा खरबुजाको बीउ नियन्त्रणमा लिएको थियो। तर, तस्कर समूहले आक्रमण गरी सामान खोसेर लगेपछि अहिले दुई बोरा मात्रै नियन्त्रणमा रहेको छ।
घटनामा ड्युटीमा खटिएका चारजना सशस्त्र प्रहरी सामान्य घाइते भएका छन् ।