धनगढी- प्रतिनिधिसभा सदस्य तथा नागरिक उन्मुक्तिका सचेतक अरुणकुमार चौधरीलाई कारागार चलान गरिएको छ।
चौधरीलाई बिहीवार दिउँसो बाँकेको चिसापानीबाट लुम्बिनि प्रदेश प्रहरीले नियन्त्रणमा लिएको थियो। बिहीबार साँझ कैलाली जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका चौधरीलाई शुक्रबार विहान १० बजे कैलाली जिल्ला अदालतमा उपस्थीत गराई कैद पूर्जी लिएर धनगढी कारागारमा चलान गरिएको हो।
उनी कैलालीको निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। चौधरी नौ वर्षसम्म आगजनी मुद्दामा दोषी ठहर फरार रहेको प्रतिवादी रहेका थिए। वि.सं. २०७० बैशाख ९ गते कैलाली जिल्ला अदालतले सांसद अरुण कुमार चौधरी सहित परशुराम चौधरी र बिर बहादुर चौधरी गरी तीन जनालाई ६ महिना कैद सजाय सुनाएको थियो। त्यती बेला ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने समेत फैसला भएको थियो। अदालतले फैसला गरेपनि यस अघि तीन जनालाई पक्राउ गरेर क्षतिपूर्ति उपलब्ध गराउन प्रहरीले कुनै पहल गरेको थिएन।