AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • समाज
  • रौतहटमा आमा छोरीको रहस्यमय मृत्यु, मृतककी श्रीमान् र ससुरा फरार

रौतहटमा आमा छोरीको रहस्यमय मृत्यु, मृतककी श्रीमान् र ससुरा फरार

  • शनिबार, असार १६, २०८०
रौतहटमा आमा छोरीको रहस्यमय मृत्यु, मृतककी श्रीमान् र ससुरा फरार

चन्द्रपुर-रौतहटको मौलापुरमा गत शुक्रबार आमा छोरीको रहस्यमय मृत्यु भएको छ । उक्त घटनामा रौतहट प्रहरीले अनुसन्धान गरिरहेको छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला परेका थिए ।

आरुहीको शव पंखामा झुन्डिएको तथा कविताको शव घरबाट बाहिरिने सिँढीमुनि फेला परेको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक उमाशंकरप्रसाद यादवले बताए । उनका अनुसार मृतक कविताका श्रीमान् धिरेन्द्र साह र ससुरा नागेन्द्र साह घटनापछि फरार छन् । कविताकी सासू र जेठानीलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ ।

कविताको माइती पक्षले दाइजोको निहुँमा उनको हत्या गरिएको आरोप लगाएको छ । उनको माइतीघर माधवनारायण नगरपालिका–५ मिठुअवा गाउँ हो ।

कविताका बुबा विजयशंकर साहले घटना थाहा पाउनसाथ आफू छोरीको घर गएको तर आफूले छोरी र नातिनीको शव हेर्नसमेत धेरै बेरपछि पाएको बताए । उनका अनुसार छोरी र ज्वाइँबीच पटक–पटक विवाद हुने गरेको थियो ।

‘बेलाबेलामा कविताले ज्वाइँ धिरेन्द्र साहले नगद, पलङ, सुनको औँठी र सिक्री माग्ने गरेको बताएकी थिइन्, दाइजो नल्याएका कारण छोरी र नातिनीको हत्या गरिएको हो’, साहले भने ।

हालसम्म घटनाको मुचुल्का तयार गर्ने काम भइरहेको र माइती पक्षले कुनै जाहेरी नदिएको रौतहट प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढाले बताए ।

Facebook Comments

सम्बन्धित समाचार