AarthikBikash
शुक्रबार, अशोज ४, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीको निष्कर्ष : धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्याे

माओवादीको निष्कर्ष : धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्याे

  • बिहिबार, अशोज ११, २०८०
माओवादीको निष्कर्ष : धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लाग्याे

काठमाडौं-सत्तारूढ दल नेकपा माओवादी केन्द्रले देशमा धार्मिक र साम्प्रदायिक सद्भाव खल्बलिन लागेको निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बलिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताए ।

“राहत शिक्षकको मागको सम्बन्धमा, उनीहरूले उठाएका प्रश्नहरू, गुनासोहरूको सन्दर्भमा राम्रोसित छलफल गरेर संवादको माध्यमबाटै हल गर्नुपर्छ भन्नेमा सबभन्दा बढी छलफल भयो । शिक्षा विधेयक संसद्मा दर्ता भएको छ, त्यो विधेयकका बारेमा पनि हामीले गम्भीर ढंगले छलफल गर्‍यौँ र त्यसलाई सकेसम्म सबै सम्बन्धित पक्षहरूसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्छ भन्ने छलफल गर्‍यौँ,” उनले भने, “देशका विभिन्न भागमा देखापरेको छ, धार्मिक सद्भाव खल्बलिने कुरा, साम्प्रदायिक सद्भाव खल्बलिने कुरा । त्यसमा सद्भाव कायम गर्नुपर्छ । नेपालीहरूमा सामाजिक सद्भावको स्थिति पहिलेदेखि धेरै राम्रो छ । सामाजिक सद्भावलाई कायम गरिराख्नुपर्छ । अराजकताका संकेतहरू देखापरेका छन् । त्यसलाई हामीले बेलैमा गम्भीरतापूर्वक लिएर समाधान गर्ने दिशातिर जानुपर्छ । बेलैमा हरेक कुरालाई सम्बोधन गरियो भने समाधान भएर जान्छ, समयमै समाधान गर्ने पहलकदमी लिइएन भने विकराल रूप लिन सक्छ । त्यसैले बेलैमा सचेत भएर यी समस्याहरू समाधान गर्नुपर्छ भनेर हाम्रो छलफल भयो ।”

सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गरे ।

Facebook Comments

सम्बन्धित समाचार